काेरियामा न्यूतनम ज्याला २.९ प्रतिशतले वृद्वि

शिव भुसाल  | २०७६ असार २७ शुक्रबार | Friday, July 12, 2019 ०६:४१:०० मा प्रकाशित

दक्षिण काेरिया– काेरियामा आगामी वर्ष सन् २०२० का लागि न्यूतनम ज्याला २ दशमलव ९ प्रतिशतले वृद्वि भएकाे छ।

गएराति सेजुङमा बसेकाे तलब निर्धारण समितिकाे १२औं बैठकले यसअघिकाे न्यूनतम ज्यालामा प्रति घण्टा २ सय ४० वन वृद्वि गर्दै ८ हजार ५ सय ९० पुर्याउने  निर्णय गरेकाे हाे।

यस अघि सन् २०१८ का लागि काेरियामा न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन रहेकाे थियाे। अब आगामी जनवरीदेखि यहाँ कार्यरत मजदुरले दैनिक ८ घण्टा काम गरेवापत प्रति महिना १७ लाख ९५ हजार ३ सय १० वन ( १ लाख ६५ हजार रुपैयाँ) पाउनेछन्।

यसअघि यहाँ क्रियाशील मजदुर संगठनहरूले न्यूनतम ज्याला प्रति घण्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका थिए। आगामी वर्षका लागि ज्याला वृद्वि गर्न नसकिने राेजगारदाताका प्रतिनिधिकाे अडानका कारण यसअघि बसेका तलब निर्धारण समितिका ११ ओटा बैठक असफल बनेका थिए।