काठमाडौं- दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको टोखा नगरपालिका ९ आनन्द टोलबाट पक्राउ गरेको हो। बिक्री वितरण गर्ने उद्देश्यले २५ इन्च लम्बाइ र १२ इन्च चौडाइको छाला र १३ इन्च लम्बाइको पुच्छरसहित उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा ओखलढुंगाका उद्धब बस्नेत र विष्णुबहादुर बस्नेत, नुवाकोटका राजेन्द्र तामाङ र रामेछापका ध्रुवकुमार खत्री रहेका छन्।
उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको अवैध कारोबार गरेको अभियोगमा आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।