धनुषा– गाली सहन नसकेर एक युवकले जनकपुरमा महिलाको हत्या गरेका छन्। सिन्धुली घर भई जनकपुर बस्ने गणेश कुमार खड्काले ५२ वर्षिय रतियादेवी यादबको हत्या गरेका हुन्।
खड्का मदिरा पिएर बसभित्र सुतेकोमा यादबले बसको ढोका खोल्न भन्दा ढोका नखोलेपछि यादबले गाली गरेकी थिइन्। त्यही गाली सहन नगकेर उनले घाँटी न्याकेर महिलाको हत्या गरी बसबाट फालिदिएको धनुषाका प्रहरी प्रमुख एसपी चक्र बहादुर सिंहले बताए। खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ।
हत्या गरेर छोरीलाई जानकारी
भोलीपल्ट बिहान रतियादेवी मृत अवस्थामा भेटिएको भन्दै उनै खड्काले मृतकको छोरीलाई खबर गरेका थिए। रतियाको शव बसमुनी थियो।
तत्कालै प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो सूचना दिने खड्कामाथि पनि शंका लागेपछि उनीमाथि पनि सोधपुछ गर्यो जसक्रममा उनले आफुलाई केही थाहा नभएको बताएका थिए।
थप अनुसन्धान गर्दै जाँदा उनले आफैंले हत्या गरेको स्वीकारेका हुन्।
‘मदिरा खाएकोमा महिलाले सधैं उनलाई गाली गर्दी रहेछिन्’ एसपी सिंह भन्छन्,‘शुक्रबार पनि उनले गाली गरेपछि रिस उठेर आफुले हत्या गरेको अभियुक्तले बताएका छन्।’ खड्का जनकपुरमा रिक्सा चलाउने काम गर्दथे। प्राय उनी बसमै सुत्दथे।
महिला सोही स्थानमा तरकारी बेच्दथिन्। तरकारी बेचिसकेपछि उनी सामान बसभित्र राख्ने गर्दथिन्। शुक्रबार पनि सामान राख्न उनले बसको ढोका खोल्न भन्दै गाली गरेकी थिइन्। त्यही गाली उनको मृत्युको कारण बन्न पुग्यो।
अभियुक्त खड्कालाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ। मदिराको नशामा त्यस्तो हुन गएको भन्दै उनले पक्राउ परेपछ पश्चाताप गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।