सोल- दक्षिण कोरियामा आत्महत्या गर्ने नेपालीको शव स्वदेश पठाउन लाग्ने खर्चको आधा हिस्सा रकम मानव संशाधन विकास सेवा (एचआरडी) कोरियाले उपलब्ध गराउने भएको छ।
कोरियामा आत्महत्या गर्ने नेपालीको शव स्वदेश पठाउँदा लाग्ने खर्चमध्ये करिब आधा अर्थात् ३० लाख कोरियन वन एचआरडीले उपलब्ध गराउने गरी सम्झौता भएको सोलस्थित नेपाली दूतावासले जनाएको छ।
गतवर्ष दूतावासले कोरियामा मृत्यु हुने नेपालीको शव स्वदेश पठाउँदा लाग्ने खर्च बेहोर्न एचआरडीसँग आग्रह गरेकोमा आत्महत्याका घटनामा ३० लाख वन उपलब्ध गराउन तयार भएको कोरियाका लागि नेपाली श्रमसहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए।
उक्त सम्झौता मे महिनादेखि लागू भएको र एउटा घटनामा रकम आउने प्रक्रियामा रहेको बाँस्तोलाले बताए।
कोरियामा ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउनका लागि दूतावासले परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई जानकारी गराएसँगै कल्याणकारी कोषबाट रकम उपलब्ध गराउने व्यवस्था छ। कोषले रोजगारीको सिलसिलामा मृत्यु हुने इपियस श्रमिकको शव नेपाल पठाउनका लागि रकम उपलब्ध गराउँदै आएको छ।
अन्य देशको हकमा रोजगारीको क्रममा ज्यान गुमाउने विदेशी श्रमिकको शव स्वदेश पठाउने खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था भए पनि कोरियाको हकमा भने नेपाल सरकारले नै बेहोर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।