रुपन्देही– रुपन्देहीको देवदहमा शुक्रबार भएको व्यापारीको हत्या फरार गुन्डा नाइके मनोज पुनबाट भएको प्रहरी आशंका छ। पुनले पनि बिदेशबाटै फोन गरेर घटनाको जिम्मेवारी लिएका छन्।
पुन देवदहकै हुन्। उनले नै गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए। काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा पनि उनकै समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ। शुक्रबार हत्या गरिएका पौडेल दुर्गा तिवारीकै साथी हुन्।
एमाले निकट व्यापारी पौडेलसँग पुनले पुरानै दुश्मनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धान भर्खरै सुरु भएकाले हत्यामा संलग्नबारे केही भन्न नसकिने रुपन्देहीका एसपी श्याम ज्ञवाली बताउँछन्।
पुनको समूहले व्यापारीहरुलाई धम्काएर पैसा असुल्दै आएका छन्। अन्य व्यापारीलाई पनि तर्साएर पैसा असुल्नकै लागि उनले हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ। ‘अरुले उनलाई हत्या गर्नुपर्ने कुनै कारण नै देखिन्न,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीले भने,‘पुनकै समूहले उनलाई धम्काउने गरेको बुझिएको छ।’
रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहार गरी काठ व्यापारी वसन्त पौडेलको शुक्रबार बिहान हत्या गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।