सोल- नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले संगठनको एकता प्रक्रिया टुंगो लगाएको छ। कोरियामा रहेका प्रवास संगठनहरु तात्कालीन एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको नेपाल जनप्रगतिशील मञ्च दक्षिण कोरियाले क्षेत्रीय कमिटीको एकता टुंगो लगाएका हुन्।
कोरियाका लागि पार्टीले संयोजकको टुंगो लगाएसँगै यहाँका क्षेत्रीय कमिटीको एकता पनि टुंग्याइएको संगठनका संयोजक परशुराम सापकोटाले जानकारी दिए।
तीन महिना अघिदेखि सुरु गरिएको एकता प्रक्रिया देशभरका १२ क्षेत्रीय कमिटीहरुको एकता पूरा गर्दै आईतबार टुंग्याईएको संयोजक सापकोटाले बताए।
यसअघि कोरियाका विभिन्न सहरमा तात्कालीन एमालेका ११ ओटा र तात्कालीन माओवादीको एउटा क्षेत्रीय कमिटी रहेका थिए।
पार्टीका अन्य संगठनमा जस्तो कोरियामा भने भागबण्डाका आधारमा कमिटी गठन नगरिएको सापकोटाको भनाई छ।
सन् १९९६ मा गठन भएको प्रवासी नेपाली मञ्च र सन् २००६ मा गठित जनप्रगतिशीलको एकता भएसँगै अब कोरियामा क्रियाशील सदस्यको संख्या ८ सय पुगेको संगठनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।