काठमाडौं– दुगड फुड एन्ड बेभरेजले म्याद गुज्रिएको कच्चा पदार्थबाट बनाएको जुस नयाँ उत्पादन मिति राखेर बजारमा बिक्री गर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयले नै म्याद गुज्रिएको भनेर सिल गरेको फ्रुटी नयाँ उत्पादन मिति राखेर हालै बजारमा पठाउन थालिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा खाद्य प्रविधि र गुण नियन्त्रण विभागका अधिकारीलाई नै झुक्याएर कम्पनीले म्याद गुज्रिएकै फ्रुटी धमाधम बिक्री गरिरहेको छ। त्यसरी उत्पादन गरिएकामध्ये आधा फ्रुटी सतुंगलस्थित कम्पनीमै छ भने आधा सीतापाइलास्थित वितरक कम्पनी गौरव स्टोरमा पुगिसकेको कम्पनी स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
सिल गरिएकामध्ये केही फ्रुटी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट परीक्षण गराएर मात्र बिक्री गराउन गत मंसिर ८ गते जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो। सोही आधारमा खाद्य प्रविधिले थोरै मात्र फ्रुटी खानयोग्य भनेर रिपोर्ट दिएकोमा कम्पनीले सबै फ्रुटीमा नयाँ म्याद राखेर बिक्री सुरु गरेको हो। यसमा प्रशासनको समेत मिलेमतोको आशंका गरिएको छ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीले गत भदौ १२ गते सतुंगलस्थित कम्पनीको कारखानामा छापा हानी म्याद गुज्रिएका कच्चा पदार्थ र उत्पादन भइसकेका जुस सिलबन्दी गरिएको थियो। कम्पनी विरुद्ध जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छुट्टाछुट्टै मुद्दा दायर भइसकेको छ।
अदालतले सिल गरिएकामध्ये उत्पादन भइसकेका फ्रुटी परीक्षण गराउन आदेश दिएकाले परीक्षणपछि खानयोग्य पेय पदार्थ बिक्री भएको हुनसक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा बताउँछन्।
‘यदि म्याद गुज्रिएका उत्पादन पनि बिक्री गरिएको रहेछ भने हामी फेरि छानबिन गर्छाैं’, शर्माले भने।
२३ करोड ठगी मुद्दाका सबै छुटे
गत असोजको पहिलो साता कम्पनीका ११ जना सञ्चालक तथा कर्मचारी विरुद्ध २३ करोड रुपैयाँ बिगोसहित ठगी तथा कालोबजारी मुद्दा दायर गरेको थियो। त्यति ठूलो मुद्दामा सबै जना सामान्य धरौटीमा छुटिसकेका छन्।
प्रहरीले फ्याक्ट्री म्यानेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी म्यानेजर शिवराज पोखरेललाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो। उनीहरुलाई सुरुमा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। तर, उनीहरु गत महिना उच्च अदालतबाट छुटिसकेका छन्।
प्रहरीले कम्पनीका सञ्चालक मालचन दुगड, उनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धा विरुद्ध समेत मुद्दा दायर गरेको थियो। छापा हानेलगत्तै उनीहरु फरार भएका थिए। पछि अदालत र जिल्ला प्रशासनमा उपस्थित भएर उनीहरु धरौटीमा छुटेका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि गाडिया, फ्याक्ट्री म्यानेजर रोहित भट्टराई र क्वालिटी अफिसर जगदीश पाण्डेलाई पनि मुद्दा दायर भएकोमा उनीहरु पनि अदालतमा उपस्थित भएर धरौटीमा छुटिसकेका छन्।
‘उनीहरु धरौटीमा छुटेलगत्तै कम्पनीमा फर्किएर म्याद गुज्रिएका फ्रुटीलाई प्रशासन र खाद्य विभागमा सेटिङ मिलाएर बिक्री थालेका हुन्’, कम्पनी स्रोतले भन्यो।
अदालतमा उपस्थित हुनुअघि मालचनले प्रभावशाली नेताहरुलाई भेटेका थिए। आफू धरौटीमा छुट्ने ढुक्क भएर मात्र उनी उपस्थित भएको स्रोत बताउँछ।
गत १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद भएको थियो। मानव स्वास्थ्यमा गम्भीर असर पुग्नेगरी कम्पनीले कुहिएका आँपको गुदीबाट फ्रुटी बनाउँदै आएको थियो।
एक वर्षअघि नै म्याद नाघेको आँपको गुदीमा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउँदै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो। प्रहरीले चार सय १८ ड्रम आँपको गुदीमा सिल गरेको थियो, जुन गत असोजमा नष्ट गरिएको थियो।
म्याद गुज्रिएकै पल्पबाट बनाइएको ५२ हजार ट्रे जुस पनि सिलबन्दी गरिएको थियो। सोही जुसमा अहिले नयाँ उत्पादन मिति राखेर बिक्री सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।