कोरियामा स्थापित बुद्ध प्रतिमा खरिदमा अनियमितता नभएको दाबी

शिव भुसाल | २०७६ असार १५ आइतबार | Sunday, June 30, 2019 १८:४५:०० मा प्रकाशित

सोल- कोरियामा कार्यरत नेपालीले गत वर्ष स्थापना गरेको बुद्ध प्रतिमा खरिदमा अनियमितता नभएको बुद्ध प्रतिमा स्थापना सचिवालय समितिले दाबी गरेको छ। प्रतिमा खरिदमा आर्थिक अनियमितता भएको र आय व्यय विवरण सार्वजनिक गर्दा बिल नदेखाएको आरोप लाग्दै आएको छ। 

समितिले उक्त आरोपको खण्डन गर्दै प्रतिमा ललितपुर, पाटनस्थित नेपाल क्युरियो आर्ट प्रालिबाट खरिद गरिएको बताएको छ। 

उक्त प्रतिमाको खरिद मूल्य समितिले सार्वजनिक गरेको आयव्यय विवरणमा जनाइए अनुसार २२ लाख ५० हजार रुपैयाँ देखाइएको छ।  

गतवर्ष कोरियाको बाउछङ्सा गुम्बामा नेपालीले रकम संकलन गरी नेपालमै हातले कुँदिएर बनाइएको तामा धातुबाट निर्मित बुद्ध प्रतिमा स्थापना गरिएको थियो।

उक्त प्रतिमा स्थापनाका लागि यहाँ क्रियाशील नेपाल बौद्ध परिवार, एनसिसीलगायतका विभिन्न संस्थाले सक्रियता जनाएका थिए।  

प्रतिमा स्थापना पश्चात् आर्थिक पारदर्शितालगायत संस्थागत स्वामित्वको विषयलाई लिएर विवाद हुँदै आएको छ। अभियान सुरु गर्दा एनसिसी मातहत हुने मौखिक सहमति गरिएको भएपनि पछि सचिवालय समितिले एकलौटी ढंगले काम गरेको एनसिसीका कतिपय पधाधिकारीको आरोप छ। 

एनसिसी अध्यक्ष अञ्जु केसी बुद्ध प्रतिमा स्थापना सचिवालय समितीकी पनि संयोजक हुन्।

एनसिसीमा अञ्जु केसीसँग असन्तुष्ट एउटा समूहले आर्थिक पारदर्शिता, प्रतिमा स्थापनामा संस्थागत स्वामित्व लगायतका विषयमा स्पष्ट पार्न माग गर्दै यसअघि विज्ञप्तिसमेत निकालेको थियो।  

गत वर्ष प्रतिमा स्थापना अभियानका लागि सचिवालयले समिति गठन गरी अभियान सञ्चालन गरिएको थियो।

उक्त अभियान मार्फत ५ करोड १९ लाख ७६ हजार ५ सय ४१ कोरियन वन संकलन गरिएको बुद्ध प्रतिमा संयोजक लोचन राई जानकारी दिए। 

नौ फिट उचाई रहेको प्रतिमा ८ सय केजी तामाबाट बनाइएको हो।

सो प्रतिमा स्थापनाका लागि एक मुष्ट ५ करोड २४ लाख ६३ हजार ९ सय ८४ कोरियन वन खर्च भएको समितिको भनाई छ। संकलित रकम भन्दा ३ लाख ८७ हजार ४ सय ४३ कोरियन वन अपूग भएकाले समितिकै पदाधिकारीबाट थप रकम सहयोग लिएर अभियान सम्पन्न गरिएको संयोजक राईको भनाई छ।