माल्टा- गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अगस्ट १२, १३ र १४ तारिखमा हुने अधिवेशनका लागि नेपाल माल्टा कम्युनिटीले एनआरएनएको सदस्यता वितरणमा सहयोग पुर्याएको छ।
यहि जनु २३ मा माल्टाको वाटरफन्ट होटल सिलेमामा भएको कार्यक्रममा विभिन्न सिलसिलामा माल्टामा रहेका नेपालीहरुलाई आइपर्ने समस्या समाधानमा एनआरएनएको भूमिका महत्वपुर्ण हुने भन्दै यस कार्यक्रमको आयोजना गरिएको नेपाल माल्टा कम्युनिटीका संस्थापक अध्यक्ष मनिष अर्यालले बताए। उनले सदस्यता वितरणसँगै नेपालीका हरेक समस्यामा कम्युनिटी सहयोग गर्न तत्पर रहेको जनाए।
कार्यक्रममा प्रमुख अतिथि रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष तेज बहादुर लिम्वुले अधिवेशन सम्पूर्ण नेपालीहरुको सहयोगमा मात्र सफल हुन सक्ने भन्दै सम्पूर्ण माल्टाबासी नेपालीहरुलाई जुन ३० सम्म सदस्यता लिन आग्रह गरे। उनले सम्पूर्ण नेपालीहरु मिलेर अघि बढ्न सके माल्टामा रहेका नेपालीहरुको समस्या सहजै समाधान गर्न सकिने समेत विश्वास दिलाए।
कार्यक्रममा अनलाइनमार्फत सदस्यता फारम भरिएको थियो। फारम शुल्क १० युरो तोकिएको थियो।
जुन ३० सम्म सदस्यता लिइसक्नु पर्ने र एनआरएनएको सदस्य बन्नको लागि माल्टामा आगमन भएको कम्तिमा पनि १ सय ८३ दिन हुनुपर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जानकारी दिएको छ।
उक्त कार्यक्रममा १ सय ५२ जनाले सदस्यता लिएका र यस सदस्यता वितरण कार्यलाई जुन ३० सम्म विभिन्न ठाउँमा कार्यक्रम गर्दै सम्पूर्ण नेपालीहरुलाई समेटिने आयोजकको भनाइ छ। (माल्टाबाट प्रकाश बगालेको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।