काठमाडौं- गरिमा जातको भनी लगाइएको धानमा बाला नलाको विषयमा संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चाँसो देखाएको छ।
समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि अनुसन्धान परिषद (नार्क)का प्रतिनिधिलाई बोलाएर सो विषयमा चासो राखेको हो।
चितवनलगायत तराईका विभिन्न जिल्लामा धानको हाईब्रिड जात ‘गरिमा’ भनेर कृषकले लगाएको धान गरिमा नभई अरु नै प्रजातिको रहेको कुरा पुष्टि भईसकेको छ।
भारतबाट आयात गरी किसानलाई गरिमा जातको हाईब्रिड धानको बिउ बेच्ने चितवनको प्रशान्त एग्रोभेटलाई कारबाहीको माग तथा पीडित कृषकहरुलाई क्षतिपूर्ति माग गर्दै समितिमा निवेदन परेको थियो।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १८ जना विज्ञ टोलीसहितको समिति गठन गरेर अध्ययन गरिसकेको छ।
उक्त टोलीले मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसार किसानलाई गरिमा भनी बेचिएका धान गरिमा नभई अरु नै प्रजातिको रहेको र त्यो जातको धान पाक्ने समय गरिमा धान पाक्ने समयभन्दा डेढ देखी २ महिना बढी रहेको पुष्टि भएको छ।
(तस्बिर: कान्तिपुर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।