कन्चनपुर- ‘न्याय पाउने आशा बिस्तारै मर्दै आयो, त्यसैले हारगुहार गर्न हामी काठमाडौं आइपुग्याै', बलात्कारपछि हत्या भएकी कञ्चनपुरको भीमदत्त–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तका बाले टेलिफोनमा भने, ‘अब बुधबार बिहानदेखि हामी भेटघाटमा लाग्छौं।’
निर्मलाको बलात्कारपछि हत्या भएको ४७ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि आमा दुर्गा र बुवा यज्ञराज पन्तसहित महिला अधिकारकर्मीको टोली काठमाडौ पुगेको हो।
टोलीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सभामुख कृष्णबहादुर महरा, सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षक लगायतलाई भेट्ने योजना बनाएको छ।
टोलीमा रहेकी महिला अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘काठमाडौं पुगिसकेका छौं। कसैसँग भेटघाट गर्न पाइएको छैन। अब सबैसँग भेटघाट गरी घटनाबारे जानकारी गराउने र निष्पक्ष छानबिनको माग गर्ने छौं।’
टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी जोशी र रमा पन्त रहेका छन्।
चन्दले भनिन्, ‘स्वयम् प्रधानमन्त्रीले नै निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएपछि कञ्चनपुरवासीको मन दुखेको छ। मेयरको आँगनमा शव राखिएको छैन, प्रधानमन्त्रीलाई गलत सूचना प्रवाह भएको छ, यो सच्याइनुपर्छ।’ प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी कार्यक्रममा निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएका थिए।
प्रहरीको नयाँ अनुसन्धान टोली र सीआइबीकै नयाँ नेतृत्वले सत्यतथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले झन् सशंकित बनेका छन्। सोमबारमात्र छानबिन समितिबाट सदस्य रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले राजीनामा दिएका थिए।
अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवाआमामा न्याय नपाउने आशंका बढेपछि सरकारका सबैसँग भेटघाट गरेर न्यायको माग गर्न काठमाडौं पुगेको प्रतिक्रिया दिए।
‘मैले त अहिलेसम्म पनि न्याय पाइएला कि भन्ने सोचेको थिएँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘अब भने यो आस मर्न थाल्यो।’ घटनाले प्रतिदिन नयाँ मोड लिनुले न्याय पाउने कुनै सम्भावना नरहेको उनी बताउँछन्। उनले न्यायका लागि आफूहरु जतिसक्यो दुःख गर्न तयार रहेको बताए। उनले वास्तविक अपराधी जोगाउन राज्य नै लागेकाले आफूहरू न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको गुनासो गरे।
‘छोरीका हत्यारा पक्राउ पर्लान् र राज्यले छोरीलाई न्याय देला भन्ने आशा थियो’, निर्मलाकी आमा दुर्गादेवीले भनिन् ‘अब झन् शंका बढ्दै गएको छ।’
मूख्य दोषी भनिएका विष्ट रिहा
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा संलग्न भनी पक्राउ परेका दीलिपसिंह विष्ट २१ दिनपछि रिहा भएका छन्।
भदौ ४ गते प्रहरीले विष्टलाई पक्राउ गरी निर्मला हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। ४ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका विष्ट र निर्मलाको डिएनए मेल नखाएपछि मंगलबार उनलाई रिहा गरिएकाे हाे।
विष्टको संलग्नता पुष्टि गर्ने आधार नभएको भन्दै सरकारी वकिलको रायमा साधारण तारेखमा रिहा गर्न अदालतले यस्तो आदेश गरेको थियो। डिएनए परीक्षणको प्रतिवेदन जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उक्त प्रतिवेदन अध्ययन गरी विष्टलाई साधारण तारेखमा रिहा गरेको हो।
निर्मला पन्तको ‘भेजाइनल स्वाब’ (योनीभित्रको तरलवस्तु)मा रहेको बलात्कारीको डिएनए र दीलिपसिंह विष्टको डिएनए फरक भएको पाइएको थियो। विधि विज्ञान प्रयोगशालाले दीलिपको डिएनए नमिलेको रिपोर्ट प्रेषित गरेको छ।
दीलीपलाई पक्राउ गर्नु अघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए। जुन अर्को दिन घटनास्थलमा ओभानै भेटिएको थियो। घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटिएको थियो।
‘संलग्न नभएको घटनामा पक्राउ गरी हत्या तथा बलात्कार मुद्दा चलाउँदा कत्तिको पिडा हुन्छ?’, दिलिपका बुबा खडक विष्टले नेपाल लाइभसँग भने, ‘निर्दोषलाई नगरेको अपराधमा संलग्न गराउने कस्तो कानुन हो?’ उनले प्रहरी प्रशासनले छोरालाई अपराध स्विकार्न कुटपिटदेखि विभिन्न मानसिक यातना दिएको बताए। उनले संघीय, प्रदेश तथा स्थानीय सरकारले क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरे। नयाँ मुलुकी ऐनमा दोषी नदेखिए त्यो बराबरको क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
बम दिदीबहिनी पनि छुटे
स्थानीयको प्रदर्शनपछि नियन्त्रणमा लिइएका बम दिदीबहिनी पनि रिहा भएका छन्। निर्मलाकी साथी भनिएकी रोशनी बम र उनकी दिदी बबिता बम सरकारी वकिलको हाजिरी जवानीमा रिहा भएकाको कन्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए। रोशनी बम साधारण तारेखमा रिहा भएकी छन् हुन् भने उनकी दिदी बबिता बम ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।
साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको शव भीमदत्त नगरपालिका–२ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।