विराटनगर– राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सविधान संशोधनको विश्वासिलो आधार तयार नभएसम्म सरकारमा जाने कुरा सोच्न पनि नसकिने बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतोले मधेश आन्दोलन नेताहरुलाई सरकारमा पुर्याउन मात्र नभएकोले पहिलो प्राथमिकता संविधान संशोधन भएको उनको भनाइ थियो। मधेस आन्दोलनका सवालदेखि संविधान संशोधनको विषयसम्मका कुरा सरकारले प्रष्ट नपारेसम्म राजपा सरकारमा नजाने उनले प्रष्ट पारे।
सरकारले यसअघि गरेका सहमति कार्यान्वयन र संविधान संशोधनको विषयलाई सरकारले संवोधन गरे त्यसपछि मात्र सरकारमा जाने कुरा सोच्न सकिने उनले बताए। ६ महिने मधेश आन्दोलन देखाउनका लागि मात्र नभएको उनले जिकिर गरे।
नेता महतोले प्रदेश २ को सरकारलाई राजपाको पूर्ण समर्थन रहेको प्रष्ट पार्दै मधेसी जनताको भावनाअनुसार सरकार निर्माण भएकाले जनभावना विपरीत राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने अडान दोहोर्याए। सरकार परिवर्तनको सम्भावना पनि नरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।