काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) प्रधानमन्त्री केपी ओलीसहित चारजना पूर्वप्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित हुन आदेश, विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको तथा कानून व्यवसायीहरूलाई होच्चाएको आरोप
२) निर्वाचन आयोगले छलफलका लागि शुक्रबार बोलायो नेकपाका दुवै पक्ष, निर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीका सन्दर्भमा छलफल गरिने ।
३) नेपाल ट्रष्टको कालिमाटीस्थित जग्गामा सम्झौताविपरीत १२ तले भवन बनाउने प्रयासमा थामसेर्कु ट्रेकिङ, ६ तलाको भवन निर्माण हुने सम्झौता भएकाले नक्सा पासको काम रोकिदिएको ट्रष्टद्वारा स्वीकार ।
४) रुसी राष्ट्रपति भ्लादमिर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको घर र कार्यालयमा प्रहरीको छापा, प्रदर्शनका क्रममा कोरोना भाइरसविरूद्धका स्वास्थ्य मापदण्ड उल्लंघन गरेकाले सोधपुछ गर्न छापा हानिएको तर्क ।
५) र, त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश, बागमती प्रदेश ९४ रनले पराजित, आर्मीले उपाधिका लागि एपीएफसँग खेल्ने ।