राजविराज- जेठ महिनाभित्रै सञ्चालमा ल्याउने लक्ष्य राखिएको राजविराज विमानस्थल बेमौसमी वर्षा तथा अन्य कारण प्रभावित भएको छ। कच्ची धावनमार्गका कारण नियमित विमान नचलेपछि ५८ वर्षदेखि अलपत्र विमानस्थलमा स्तरोन्नतिका लागि काम हुँदै थियो।
कान्छाराम, रमण र देव एन्ड शायर जेभीले विमानस्थल निर्माण कार्यको ठेक्का लिएपछि २०७३ असोजदेखि निर्माण कार्य थालिएको छ। पक्की धावनमार्गको लम्बाइ १ हजार ५ सय मिटर र ३० मिटर चौडाइ छ। ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन छ। १ सय ५ मिटर लामो र २० मिटर चौडाको ट्याक्सी वे पनि निर्माण गर्न लक्ष्य राखिएको छ। भ्याटबाहेक २६ करोड रुपैयाँमा ती कम्पनीले कामको ठेक्का लिएका हुन्।
जेठभित्रै विमानस्थलको पिचिङ सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा, हावाहुरी, आन्दोलन र हाल चिसोका कारण अपेक्षा अनुसार काम गर्न नसकिएको ठेकेदार कम्पनीका साइट इन्जिनियर जितेन्द्रकुमार यादवले जानकारी दिए।

‘साउनको अन्तिम सातादेखि सुरु भएको बाढी र बेला–बेलाको हावाहुरीले काम ठप्प गर्नुपर्ने अवस्था आयो,’ यादवले भने, ‘एमालेको मेची-महाकाली अभियान क्रममा आन्दोलन भएपछि सम्झौताभित्रै काम पूरा गर्न सकिएन।’ प्रहरीको गोली लागी फागुन २३ गते ५ जनाको ज्यान गएपछि भएको बन्दहडतालले काम प्रभावित भएको उनले बताए।
पिचिङका लागि जेठसम्मको समय उपयुक्त हुने भएकाले तत्कालीन समयमा तीव्र गतिमा काम अगाडि बढाए पनि मौसमी प्रतिकूलताले धोका दिएको यादव बताउँछन्। उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणसित विभिन्न चरणमा कामको स्वीकृति, डकुमेन्ट तयारीमा समेत केही समय लाग्ने भएकाले सोचे जस्तो काम हुन सकेको छैन।
‘यतिबेला चिसोले गर्दा काम रोकिएको छ,’ यादवले भने, ‘न्यूनतम २० डिग्रीभन्दा कम तापक्रममा पिचिङ गर्न सकिन्न, अहिले सरदर १५ डिग्रीभन्दा कम तापक्रम छ।’ मौसमले साथ दिए फागुनको अन्त्यसम्म सबै काम सकिने उनले जानकारी दिए। पक्की धावनमार्ग निमार्णका लागि हालसम्म डबल लेयर बेसको काम सम्पन्न भइसकेको छ।

तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको उद्घाटन गरेका थिए। कच्ची धावनमार्गका कारण विमानस्थलमा नियमित सेवा थिएन। २०५२ बैसाखबाटै नियमित उडान भएको छैन। त्यसअघि सोमबार र बिहीबार गरी हप्ताको दुई पटक काठमाडौं उडान हुँदै आएको थियो। दुईदिने उडान पनि बन्द भएपछि यहाँ आसपासका यात्रु २२ वर्षदेखि विमान चढ्न विराटनगर र जनकपुर जाने गरेका छन्।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले विकास निर्माणका दृष्टिकोणले चौतर्फी महत्वको विमानस्थल निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी विमान सञ्चालन गर्न माग गरेका छन्। ‘काम एकदमै सुस्त गतिमा भइरहेको भन्दै जनतामा व्यापक गुनासो छ,’ अध्यक्ष प्रधानले भने, ‘केही समस्या छन्, तर कतिपय कुरालाई सम्बन्धित पक्षले आफनो पहलमा म्यानेज गरेर पनि निर्माण सक्नुपर्छ।’ २०७४ मंसिर मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता अवधि सकिएका कारण पनि सप्तरीवासीको गुनासो बढेको उनले बताए।

राजविराज नगरपालिकाबाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिका (साबिक इटहरी विष्णुपुर गाविस) मा अवस्थित विमानस्थल निर्माणका लागि स्थानीय रुद्रनारायाण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएका थिए। राजविराज विमानस्थल नाम रहे पनि सरकारले परिवर्तन गरी हाल 'गजेन्द्रनारायण सिंह विमानस्थल' बनाएको छ। जग्गादाता परिवार रुद्रनारायणका छोरा महामायाप्रसादले यो निर्णयप्रति विरोध जनाएका छन्।

विमानस्थलमा कार्यालय प्रमुख, कार्यालय सहयोगी र २ चौकीदार गरी चार ४ कर्मचारीको दरबन्दी छ। प्रमुख र कार्यालय सहयोगी विराटनगर विमानस्थलमा काजमा छन् भने २ चौकीदार विमानस्थलमै कार्यरत छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।