सुर्खेत– वीरेन्द्रनगरका व्यवसायी योगेन्द्र शाही समय–समयमा जर्बुटास्थित ‘आफर होमस्टे’मा गइरहन्छन्। होमस्टेको सत्कारका साथै त्यहाँ पाइने स्थानीय परिकारले उनलाई लोभ्याउँछ। त्यसैले पनि उनी ७–१० दिनमा समय निकालेर आफर होमस्टे पुगिहाल्छन्।
‘सिस्नोसँग मकैको ढिँडो खान अहिले कहाँ पाइन्छ र?’ उनी भन्छन्, ‘पहिले गाउँमा हुँदा खाइने त्यही परिकारको स्वाद लिन म होमस्टे गइरहन्छु।’ उनले व्यवसायका कारण सहरमा बस्नुपरे पनि गाउँमा पाइने स्थानीय परिकारको रहर पूरा गर्न होमस्टेले सघाएको बताए। भन्छन्, ‘सहरमा चाहेर पनि सिस्नो, ढिँडो लगायत स्थानीय परिकार पाउन गाह्रो छ। होमस्टेमा हाम्रा पुर्खाले सबैभन्दा धेरै उपभोग गरेका यस्तै परिकार पाइने हुनाले पनि म त्यहाँ जान रुचाउँछु।’
योगेन्द्र मात्रै होइन पछिल्लो समय होमस्टेमा धाउनेहरुको संख्या बढ्दै गएको छ। वीरेन्द्रनगर नजिकै रहेको जर्बुटास्थित आफर होमस्टे र बराहतला गाउँपालिका ५ स्थित सालघारी होमस्टेमा खाना खान र बास बस्न पुग्नेहरुको संख्या बढिरहेको होमस्टे सञ्चालकहरु बताउँछन्। होहल्ला र प्रदुषणरहित गाउँको होमस्टेमा पारिवारिक वातावरण, स्थानीय परिकार र स्थानीय कलासंस्कृतिको प्रदर्शनले आन्तरिक तथा वाह्य पर्यटकलाई लोभ्याउने गरेको छ।
यहाँका होमस्टेमा सिस्नोसँगै मकैको रोटी, ढिँडो, साग, मोही, गोलभेंडाको अचार, सिन्कीको अचार, स्थानीय जातका कुखुराको मासु, दही, दूध लगायतका परिकार पाइन्छन्। त्यसैगरी स्थानीय ठाउँमा प्रचलित गीत तथा नाँच समेत प्रस्तुत गर्ने गरिएको छ। जसले गर्दा सहरमा बसोबास गर्दै आएकाहरु पनि एक दिन वा रातका लागि होमस्टेमा पुग्न चाहन्छन्।
रोजगारीको अवसर
होमस्टे फस्टाउँदै गएपछि रोजगारीको अवसर पनि सिर्जना भएको छ। बर्सेनि रोजगारीका लागि भारत पुगेर मजदुरी गर्ने बराहताल–५ सालघारीका टोपबहादुर आले अहिले घरमै छन्। होमस्टे सञ्चालन गरेर बसेका उनी अब रोजगारीकै लागि भारत जानुपर्ने अवस्था नरहेको बताउँछन्। होमस्टे आय–आजर्नका लागि राम्रो विकल्प बनेपछि उनी भारत जान छोडेका हुन्।
‘अब बाहिर कमाइ गर्न जाने सोच छैन,’ उनले भने, ‘कमाइ गर्नका लागि फेरि पनि बाहिर जानुपर्छ कि भन्ने चिन्ता थियो अब यहीँ आफ्नै ठाउँमा केही होला भन्ने लागेको छ।’ होमस्टेले घरमै बसेर आम्दानी गर्नसक्ने बनाएको उनले बताए । ‘पहिला कमाइका लागि कहिले इन्डिया कहिले वीरेन्द्रनगर जानुपर्थ्यो, विद्यालयमा क्यान्टिन पनि चलाएँ,’ आलेले थपे, ‘अहिले होमस्टे सञ्चालन भएपछि घरमै बसेर आम्दानी गरिरहेको छु।’
टोपबहादुर मात्र होइन बराहताल गाउँपालिका ५ स्थित सालघारी टोलका अधिकांश पुरुष विगतमा रोजगारीका लागि भारत नै पुग्थे। तर, अहिले होमस्टेले गाउँमै रोजगारी सिर्जना गरेपछि उनीहरु घरमै भेटिने गरेका छन्।
होमस्टेले महिलालाई पनि आर्थिक रुपमा सक्षम बनाएको बताउँछिन् जर्बुटाकी रचना बाँठा। विगतमा आफूहरुले गर्दै आएको घरायसी कामलाई थप व्यवस्थित मात्रै गर्दा पनि आयआर्जनको स्रोत बढेको उनले बताइन्। ‘यहाँका महिलाकै अग्रसरतामा होमस्टे सञ्चालनमा आएको हो,’ उनले भनिन्, ‘होमस्टे सुरु गरेसँगै पर्यटकको आगमन बढ्नुका साथै आम्दानी पनि वृद्धि भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।