रोल्पा- रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन्। ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन्।
तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई छोरीले विद्यालयमा पढिरहेका छन्। उनका श्रीमान पनि लिवाङमै मजदुरी गर्छन्। गाडीबाट सामान लोड अनलोडबाट सुमित्राको मासिक कमाइ रु १५ हजार पुग्छ।
सदरमुकाममा रहेको उच्च माध्यमिक विद्यालयकी विद्यार्थी हुन् दिलसरा डाँगी। हाल शिक्षा विषय लिएर कक्षा १२ पढ्दै गरेकी डाँगी बिहानी कक्षा लिएर दिउँसो गाडी लोन अनलोड गर्न जान्छिन्।
पढ्नका लागि गाउँबाट सदरमुकाम आएकी दिलसराको आर्थिक अवस्था कमजोर रहेकाले दिउँसोको समय मजदुरी गर्न बाध्य छिन्। गाडी लोड अनलोडबाट रु १०/१५ हजार मासिक कमाइ गर्दै आएकी दिलसराले खर्च गरेर बचेको पैसा घर पठाउने गर्छिन्। बिहान विद्यालय गएर अध्ययन गरेपनि दिनभर मजदुरीमा जानुपर्ने बाध्यताले उनको पढाइलाई समेत असर गरिरहेको छ।
भारत गएका श्रीमान् लामो समयसम्म फर्केर नआएपछि उषा परियारलाई चार छोराछोरीको पालनपोषणका लागि ज्याला मजदुरी नगरी सुखै भएन। श्रीमानको कमाइले छोराछोरी पाल्ने सपना देखेकी उषाले भारत पुगेका श्रीमानले पैसा पठाउनु त कहाँ हो कहाँ, श्रीमान् नै बेखबर भएपछि साना छोराछोरी बोकेर लिवाङ आउनुको विकल्प भएन। अचेल छोराछोरी विद्यालय पढाइरहेकी उषाले गाडी लोड अनलोड गरेर कमाएको पैसाले जेनतेन घर व्यवहार चलेको छ। उषाको मासिक कमाइ रु १५ हजारभन्दा बढी नै हुने गर्दछ।
सुमित्रा, दिलसरा र उषा रोल्पाली श्रमिक महिलाका प्रतिनिधि पात्र हुन्। भवन निर्माण, सडक निर्माण, पुल निर्माण जस्ता कार्यमा मात्र हैन गाडीमा लोड अनलोड गर्ने काममा समेत महिलामात्रै देखिन थालेका छन्।
कडा शारीरिक श्रम गर्ने ठाउँमा महिलाको उपस्थिति बढ्दै गएको देखिएको छ। यसको मुख्य कारण पुरुषको विदेश पलायन भएको नेपाल निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्री बताउँछन्। पुरुषजति वैदेशिक रोजगारीमा जाने भएकाले महिला ज्याला मजदुरीका लागि बाध्य भएको उनले बताए।
विदेश गएका आफन्तको समेत राम्रो कमाइ नहुँदा रोजीरोटीका लागि महिला गह्रौँ शारीरिक श्रम गर्न बाध्य छन्। पुरुषको तुलनामा महिलाले इमान्दारिताका साथ काम गर्ने भएकाले पनि निर्माण कार्यमा महिलाले प्राथमिकता पाउन थालेको खत्रीको बुझाइ छ। जिल्लामा अधिकांश महिलाले अदक्ष र जोखिमपूर्ण काम गर्ने भएकाले उनीहरुको शारीरिक सुरक्षा मुख्य चुनौतीका रुपमा देखिएको छ।
विदेश गएका श्रीमानको राम्रो कमाइ नहुने तथा कमाइ भए पनि घरमा पैसा नपठाउने समस्या रहेकाले रोल्पाली महिला कडा शारीरिक श्रमयुक्त काम गर्न बाध्य भएको महिला अधिकारकर्मी तीर्था आचार्य बताउँछिन्। महिनावारी, गर्भवती र सुत्केरी अवस्थामा शरीर निकै कमजोर हुने भए पनि रोल्पाका श्रमिक महिला त्यस्तो अवस्थामा समेत काम गर्न बाध्य छन्। 'कडा शारीरिक श्रम गर्ने महिलाले पोषणयुक्त खानाको त के कुरा समयमै र पेटभरि खानसमेत पाउँदैनन्,' आचार्यले भनिन्।
दैनिक १९ जना रोल्पाली रोजगारीका लागि खाडी जाने गर्दछन्। स्वदेशमा भरपर्दो राजगारी नपाएका कारण विदेशिने त्यस्ता रोल्पालीमध्ये ८० प्रतिशत बढी २० देखि ४० वर्ष उमेर समूहका छन्। पुरुष विदेश गएसँगै खेतबारी खनजोतको कामसमेत महिला र वृद्धवृद्धाले गर्नुपर्ने भार थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।