काठमाडौं– वैदेशिक रोजगारीबाटै परिवारको जीविका धान्दै आएका खोटाङ ऐँसेलुखर्क गाउँपालिका २ का कृष्णकुमार पुरी साउदी पुगेर भर्खरै नेपाल फर्किएका थिए। पहिलो पटक रेस्टुरेन्टमा वेटर कामका लागि कतार पुगेका उनी सन्तुष्ट हुन सकिरहेका थिएनन्। सोचे जस्तो कमाइ नभएपछि घर फर्किए, र लगत्तै साउदी पुगे। साउदीमा दूध डेरीको काम सन्तोषजनक नै थियो।
‘मासिक १२ सय साउदी रियाल कमाइ थियो, मान्छेलाई जति पैसा भए पनि नपुग्ने,' निराशा मुद्रामा उनी भन्छन्, 'त्योभन्दा अझै बढी हुन्छ कि भन्ने सोचियो।’
वैदेशिक रोजगारबाहेक अरु आम्दानीको विकल्प नभएपछि विदेश जानैपर्ने बाध्यता थियो पुरीको। साउदीस्थित डेरीमा भन्दा अझ बढी कमाइ हुने कम्पनीको खोजीमा थिए उनी। एकदिन उनले पत्रिकामा राम्रो कामको माग आएको विज्ञापन देखे। विज्ञापन गर्ने कम्पनी थियो, शुभम ओर्भसिस म्यानपावर।
पुरी कामको मागबारे बुझ्न सुभम म्यानपावर पुगे। त्यहाँ उनलाई कतारस्थित बलदिया सरकारी कम्पनीमा क्लिनर कामको माग आएको सुनाइयो। सरकारी कम्पनी भनेपछि उनी लोभिए।
तलब पनि ८ घन्टाको २२ सय रियाल। ओभर टाइम सुविधा भएकाले उनीसँगै खोटाङकै खड्गकुमार पुरी, शंकर वन र लोकनाथ गिरी पनि कतार जान तयार भए।
सबैलाई कतार जानका लागि प्रतिव्यक्ति ४ लाख २० हजार लागत लाग्ने सुनाइयो।
वैदेशिक रोजगारीमा आउनेजाने गरिरहने भएकाले म्यानपावरलाई बुझाउन उनीहरुले पसिनासँग साटेर ल्याएको पैसा थियो। ‘मासिक २२ सय कतारी रियाल कमाइ हुने भएपछि ४ लाख त छिट्टै कमाइ भइहाल्छ नि भन्ने सोचियो अनि बुझाइयो,’ अलपत्र परेर फर्किए अर्का पीडित खड्गकुमार पुरीले सुनाए।
चारै जनाले प्रतिव्यक्ति ४ लाख २० हजार सजिलै दिए। र, २०७५ भदौको अन्तिम साता उनीहरु कतारका लागि उडे।
काम न माम!
कतार पुर्याएर सबैलाई एउटै कोठामा राखियो।
‘सुरुका डेढ महिनासम्म त खानेबस्ने पनि राम्रै व्यवस्था थियो। त्यसपछि न काम दिन्छ, न खाना,' खड्गकुमार सुनाउँछन्, 'साथी र आफन्तहरुसँग सम्पर्क गरेर खाना खाने पैसा मागेर बाँचियो।’
म्यानपावरका सञ्चालक बुद्धि बस्यालले भने उनीहरुलाई भोलिभोलि भनेर झुलाइरहेका थिए। कतारको तातो कोठामा २ महिनासम्म बस्नुपर्दा उनीहरु 'बन्धक'झैं बनिसकेका थिए। तब मात्रै उनीहरुले आफूहरु फसेको बारे यताउता खबर गर्न थाले।
उनीहरु चारै जनाको यो पहिलो पटकको वैदेशिक रोजगारी भने होइन। कृष्णकुमार पुरीको यो विदेश तेस्रो यात्रा हो भने खड्गकुमार पुरी, शंकर वन र लोकनाथ गिरीको दोस्रो यात्रा थियो।
योभन्दा अगाडी उनीहरु रोजगारीका लागि कतार पुगेका थिए।
बलदिया कम्पनी राम्रो भएकाले आफूहरुले म्यानपावर कम्पनीको विश्वास गरेर प्रतिव्यक्ति ४ लाख २० हजार बुझाएको उनीहरु बताउँछन्।
डेढ महिनासम्म खानबस्न दिए पनि त्यसपछिका दिनहरुमा उनीहरुलाई कतार पुर्याउने म्यानपावरका व्यक्ति र रिसिभ गर्ने एजेन्टले फोन उठाउन छाडे। आफूहरुलाई बेवास्ता गरेर अलपत्र पारेपछि दूतावास लगायतका निकायमा उनीहरुले खबर गरे।
'आफन्तहरुलाई केही रकम मगायौं। बल्लतल्ल केही रकम म्यानपावरले पठाएपछि मात्रै मंसिरको पहिलो साता नेपाल फर्कन सफल भयौं,' उनीहरु भन्छन्।
कतारबाट अलपत्र परेर फर्किएका पीडितहरुले म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा ठगीको उजुरी दिएका थिए। सोही उजुरीका आधारमा शुभम म्यानपावर कम्पनीका सञ्चालक बुद्धि बस्याललाई विभागले पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ परेका छन्।
नेपाल लाइभसँगको कुराकानीमा भने उनले आफूले जानीजानी ठगी नगरेको जिकिर गरेका छन्। ‘कामदारहरुलाई कामकै लागि कतार पठाउँदा भनेजस्तो भएन त के गर्ने,’ प्रहरी हिरासतमा रहेका बस्यालले ठाडो जवाफ दिए।
वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई राम्रो काम र कमाइको प्रलोभन देखाएर म्यानपावर कम्पनीहरुले कामदार ठग्ने प्रवृत्ति बढ्दै गएको बताउँछन्। ‘कामदारहरुलाई एउटा काम भनेर अर्कै काममा पुर्याउने, काममा नपुर्याइ अलपत्र पार्ने समस्या बढी आउने गरेका छन्,' उनले भने, 'यसरी ठगी गर्ने म्यानपावर कम्पनीहरुलाई अनुसन्धान गरी कारबाही गरिरहेका छौं।’
विभागले पीडितहरुको ठगिएको प्रमाणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। पीडित र पीडक दुवै पक्षलाई सँगै राखेर छलफल गराई पीडित पक्षको क्षतिपूर्ति उपलब्ध गराउने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।