काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सरकारले उद्योगहरू सञ्चालनमा ल्याएको दाबी गरेकामा खुला अर्थतन्त्रका पक्षधरहरूले कटाक्ष गरेका छन्।
पूर्वमुख्यसचिव तथा अर्थविद् डा. बिमल कोइरालाले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउनु सकारात्मक भए पनि यो घाटामा गए कहाँबाट व्यहोर्ने भनेर सूचना मागेका छन्।
‘नोक्सानीमा गयो भने सरकारले नै व्यहोर्ने होला। विकास बजेटको विनियोजन कटौती गरेर... कहाँबाट काट्ने? स्कुल, अस्पताल वा खानेपानी, सडक वा गरिबी निवारणको शीर्षकबाट? सरकारले यस विषयमा सुसूचित गरोस्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।
उनले हेटौंडा कपडा उद्योग सञ्चालन हुनु खुसीको कुरा भएको बताएका छन्।
‘उत्पादन थालेपछि सरकारले आफैं चलाउने हो। नाफा गर्यो भने त ठिकै छ,’ डा. कोइरालाले भने।
प्रधानमन्त्री बालेनले गत साउन २३ गते संकटमा रहेको हेटौंडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याएको भन्दै फेसबुक पोस्टमा उल्लेख गरेका थिए।
उनले भनेका थिए– ‘बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परीक्षणपछि नेपाल सरकारले नै सञ्चालन गर्नेछ। तान (लम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको छ।’
बालेनको यो पोस्टपछि यसबारे विभिन्न टिप्पणी हुन थालेको सन्दर्भमा डा. कोइरालाको भनाइ सार्वजनिक भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।