काठमाडौं– प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका आफ्ना सांसदहरूलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडाइ गर्न थालेको छ।
यसै सिलसिलामा पार्टीले सांसदहरूको संसद् बैठकमा उपस्थितिको हाजिरी विश्लेषण गर्ने भएको छ।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले शुक्रबार दिएको जानकारीअनुसार सांसदहरूको हाजिरी विश्लेषण गर्न समिति गठन गरिएको छ।
संसद् सचिवालयबाट प्रतिनिधि सभाको बैठक उपस्थितिको विवरण झिकाई विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न संसदीय दलका सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको बुर्लाकोटीले जानकारी दिएका छन्।
उनले जारी गरेको सूचनामा भनिएको छ, "पछिल्लो समय संसदमा अपेक्षित उपस्थिति नभएको, बैठक सुरुमा उपस्थित भए पनि बीचमै संसद छाडेर जाने क्रम बाक्लिँदै गएको र यसबाट संसदको गरिमा कमजोर हुँदै जाने देखिएकाले विगतको निम्नानुसार हाजिरी विश्लेषण गरिँदै रहेको व्यहोरा जानकारी गराउँछु।"
समितिले २०८३ असार ३० र ३१ तथा साउन १४, १८ र २२ गतेको हाजिरी विश्लेषण गर्नेछ।
प्रतिनिधि सभामा सांसद मनिष झा, रमेश प्रसाईलगायतले सरकारको चर्को आलोचना गरेकै दिन रास्वपाले सांसदहरूलाई कस्ने नीति सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।