न पहाडी, न मधेसी ,न हिमाली लेखियोस् ।
म मरे पनि मेरो पहिचान नेपाली लेखियोस् ।
पुर्खाको नाम लेख्नुपर्दा जनक र बुद्ध लेखिदिनु ।
उचाई मेरो लेख्नलाई सगरमाथा देखाइदिनु
घरबार मेरो मेचीदेखि काली लेखियोस् ।
न पहाडी, न मधेसी, न हिमाली लेखियोस् ।
यो कविता छोडेर कवि सदाका लागि बिदा भएका छन् ।
डा. राजेन्द्र प्रसाद विमल नेपाली र मैथिली भाषा, साहित्य तथा प्राज्ञिक जगतका अद्वितीय र बहुआयामिक व्यक्तित्व । कम्तिमा मैथिली साहित्यको चर्चा उनको अभावमा पुरा हुन सक्दैन । उनले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको श्रीवृद्धिमा समर्पित गरे ।
नेपाली तथा मैथिली दुवै भाषाका सिद्धहस्त स्रष्टा, भाषाविद्, निबन्धकार, कवि, गीतकार, गजलकार, कथाकार, अनुसन्धानकर्ता प्राध्यापक डा. विमलले दुई भाषाबीच सेतुको काम गर्दै नेपाली साहित्यको भण्डारलाई समृद्ध बनाउने काम त गरेका छन् नै भाषा, साहित्य र संस्कृतिका माध्यमबाट हिमाल, पहाड र तराई जोड्ने योजकको भूमिका पनि निर्वाह गरेका छन् ।
उनी नेपाली र मैथिली भाषा साहित्यका मात्र उदभट् वि“दन होइनन् अंग्रेजी साहित्यका अतिरिक्त भारतीय उपमहादिपका अन्य थुप्रै भाषाका जानकार पनि हुन । सारमा, नेपाली राष्ट्रियता प्रवर्द्धन एक सदावहार संयोजक र अभियन्ता हुन । सारमा उनको परिचय यही हो र रहनेछ ।
विमल सरले आज हामीबीचबाट सदाका लागि महाप्रस्थान गरेका छन् । सोमवार -हिजो) अबेर राति जनकपुरस्थित घरमै रहेर छोरा–नातीसँग कुरा गर्दै तेस्रो पुस्तासँग खेलिरहेका विमल सरको शरीरमा अचानक केही परिवर्तन देखियो । उनी अस्वस्थ भए । उनलाई जनकपुर प्रदेश अस्पताल लगियो । उपचारकै क्रममा अस्पतालमै मंगलबार एकाबिहानै उनले महाप्रस्थान गरेको उनको परिवारका सदस्यले जानकारी दिएका छन् । केहीवर्ष पहिले पत्नी वियोगको पीडा सहेका विमलले त्यसपछि एक्लोपनाको अनुभव गर्दैआएका थिए । डा. विमलले यस धरामा दुई पुत्र र एक पुत्री छोडेर गएका छन् ।
डा विमल के हुन/थिए ? उनको परिचयका सम्बन्धमा कसरी चर्चा गर्ने ? कुरोको प्रारम्भ कहाँबाट र कसरी गर्ने भन्न बडा गाह्रो छ । यो पंक्तिकारले उनको सान्निध्यमा रहेर आशीर्वाद पाउने शोभाग्यप्राप्त ग¥यो । २०४२ सालदेखि ०५२ सम्म जनकपुरधमस्थित राराव क्याम्पसमा अध्ययनरत रहँदा झाँगिएको डा. विमलसँगको सम्बन्ध उनको मृत्युको पूर्वसन्ध्यासम्म निकट रह्यो । उनी मेरालागिनिःस्वार्थी अभिभावकका रुपमा प्रस्तुत भए ।
साहित्य लेखनमा डा. विमलबाट प्रोत्साहन प्राप्त गरेकोमा आज नेपाली र मैथिली साहित्य तथा पत्रकारितामा जे जस्तो अवस्थामा छु, डा. विमलको महत्वपूर्ण योगदान छ । मैथिली साहित्यको दधिचिका रुपमा स्वीकृत डा. विमल भाषा र साहित्यका प्रत्येक क्षेत्र र विधामा विज्ञ थिए । इतिहास र संस्कृति उनको रुचीको विषय थियो ।
मिथिला संस्कृति र जनक दर्शनका जानकार उनले जीवनको अन्त्यतिर बुद्ध दर्शनको अध्ययनमा समेत रुची देखाएर विश्वविद्यालयको औपचारिक शिक्षा ग्रहण गरेका थिए । मैथिली साहित्यका जीवित …इनसाइक्लोपिडियाका रुपमा चिनिने विमल सर भाषा साहित्यसँग सम्बन्धित सबै समस्याका समाधान थिए । अब त्यस्ता समस्याको समाधान कसले गरिदिन्छ ? थाहा छैन ।
मिथिला नाट्यकला परिषदका अध्यक्ष संस्कृतिकर्मी सुनीलकुमार मल्लिक भन्छन्– लामो समयसम्म यो रीक्तता कायम रहने निश्चित छ । डा. विमलले यो पंक्तिकारको पुस्तकाकार पहिलो कृति मैथिली कविता संग्रह रस्तात कैत जिनगी -२०५१) को भूमिका लेखेर आशिर्वाद दिएको हिजोजस्तो लाग्छ ।
डा. विमलको जन्म जनकपुरको देवी चोकमा २६ मार्च १९६७ -२००३ चैत १३) मा भएको थियो । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार बाल्यकालदेखि नै बहुभाषिक र बहुसांस्कृतिक वातावरणमा हुर्किएका विमलमा सानै उमेरदेखि भाषा र साहित्यप्रति गहिरो चासो र अभिरुचि थियो ।
उनका परिवारका सदस्यका अनुसार उनले आफ्नो प्रारम्भिक र माध्यमिक शिक्षा जनकपुरबाटै तथा उच्च शिक्षा काठमाडौँबाट पूरा गरे । अध्ययनका क्रममा उनी नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा सिद्धहस्त बने । उनले बनारस हिन्दू विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्या वारिधिको उपाधि हासिल गरेका थिए ।
उनको विद्यावारिधिको शोधपत्रको विषय –मैथिली, नेपाली र हिन्दीभाषाको रूप विज्ञानको तुलनात्मक अध्ययन रहेको छ जो भाषा विज्ञानका क्षेत्रमा एक महत्वपूर्ण ऐतिहासिक दस्तावेज मानिन्छ । डा. विमलले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरे । यो पंंक्तिकार उनको विद्यार्थी भएकोमा गौरवानुभूत गर्दछ ।
मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहेका विमलका लेख, रचना र साहित्य विषयक अनुसन्धानहरू विद्यालयदेखि स्नातकोत्तर तहसम्मका पाठ्यक्रमहरूमा समावेश छन् । मैथिली विकास कोषका वर्तमान अध्यक्ष समाजसेवी जीवनाथ चौधरीका अनुसार, कुनै विमति छैन एक गुरुका रूपमा उनले नयाँ पुस्ताका थुप्रै साहित्यकार, पत्रकार र भाषाविद्हरू तयार पारेर यो क्रम नेपाली र मैथिली दुबै भाषामा समानान्तर रुपमा जारी रह्यो ।
डा विमलका विद्यार्थी नेपाल सरकारका वरिष्ठ कर्मचारी प्रदीप कुमार कोइराला भन्छन्–डा.विमल बहुविधागत प्रतिभाका धनी थिए, यसमा शंका छैन। उनले मैथिली र नेपाली दुवै भाषामा कविता, कथा, निबन्ध, समालोचना र रूपान्तरण/अनुवादका क्षेत्रमा कलम चलाएका छन् । उनले मैथिली र नेपाली साहित्यमा समान योगदान पुर्याएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व परिषद सदस्य प्राज्ञ रमेश रञ्जनका अनुसार मैथिली भाषा र साहित्यको आधुनिक पुनर्जागरणमा डा. विमलको स्थान उच्च छ । उनले मैथिली भाषामा आधुनिक चेतना, सामाजिक यथार्थवाद र दार्शनिक गम्भीरता भरेका छन् ।
मैथिलीभाषा साहित्यका अध्येता विराटनगरवासी प्रवीण नारायण चौधरीका अनुसार मैथिली भाषामा थुप्रै कथा, निबन्ध र कविताहरू प्रकाशित भएका डा विमलले मैथिली भाषा आन्दोलन र मिथिलाको लोक संस्कृतिको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
राराव क्याम्पस जनकपुरका उनका विद्यार्थी रत्ना रायमाझीका अनुसार डा. विमलको योगदान मैथिली साहित्यको उन्नयनमा मात्र छैन बरु नेपाली साहित्यमा पनि उनले महत्वपूर्ण योगदान पुर्याएका छन् । यस्तै डा. विमलका चेला साहित्यिक स्रष्टा दिनेश पौडेल गरीव पनि क्याम्पसकालीन दिनको स्मरण गर्दै डा विमललाई सम्झन्छन् । उनी भन्छन्–नेपाली भाषामा डा. विमलका उत्कृष्ट कृतिहरू छन् ।
उनले नेपालीकथा, निबन्ध र समालोचना क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन्। कोइराला थप्छन्– उनका कथाहरूमा सामाजिक असमानता, मानवीय संवेदना, सांस्कृतिक घुलमिल र तराई–पहाडबीचको भावात्मक सम्बन्धको प्रष्ट बोध गर्न सकिन्छ । डा विमलको सम्झना अनुवाद साहित्यका लागि पनि गर्नुपर्ने हुन्छ ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष भाषा अभियन्ता पुरन गुप्ताका अनुसार विश्व साहित्य र मैथिलीका उत्कृष्ट रचनाहरूलाई नेपालीमा तथा नेपाली साहित्यका उत्कृष्ट रचनालाई मैथिलीमा अनुवाद गरी साहित्यिक भाइचारा अभिवृद्धि गर्न पनि उनको ठूलो भूमिका छ ।
माथि पनि चर्चा गरियो, डा. विमल साहित्यिक स्रष्टामात्र नभई एक प्रखर भाषाविद् र सांस्कृतिक चिन्तक पनि हुन् । मैथिली भाषा, साहित्य र संस्कृतिलाई नेपालभित्रै र विदेशमा चिनाउन डा विमलले महत्वपूर्ण योगदान पुर्याएका छन् । राष्ट्रिय एकताका पक्षधर डा. विमलले आफ्ना लेख तथा वक्तव्यहरूमा सधैँ नेपालको बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई राष्ट्रिय शक्तिको रूपमा प्रस्तुत गर्ने गरेका थिए ।
डा.विमलले विश्वविद्यालयको औपचारिक पदभन्दाबाहेक राज्यबाट कहिल्यै कुनै पहिचान पाएनन् । यो देशकै लागि दूर्भाग्य हो । उनलाई पद,पैसा र प्रभावको कहिल्यै मतलब भएन । उनले लिने कुरामा कहिल्यै विश्वास गरेनन् र लिएनन् पनि । तर उनले आफूले सकेको सँधै दिए र दिइ नै रहे । उनी कहिल्यै पनि रित्तिएनन् । यस अर्थमा डा. विमल आधुनिक दधिचि हुन् भन्दा अन्यथा ठहर्दैन ।
राज्यले खासै महत्व नदिए पनि साहित्यिक र प्राज्ञिक क्षेत्रमा पु¥याएकोे अतुलनीय योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले उनलाई उच्च सम्मान र पुरस्कार प्रदान गरेका छन् ।
जिवीत छँदा राज्यले उनलाई यथोचित ढंगले सम्झन नसकेको पीडा उनको समस्त प्रशंसकको पीडा हो । न त उनी कहिल्यै नीति निर्माण तहमा गए न त भाषिक उन्नयनका क्षेत्रमा राज्यको औपचारिक निकायको हिस्सा बन्न सके, तर उनलाई यसको क्षोभ कहिल्यै रहेन । अब उनको जीवनलाई भविष्यका पुस्ताका लागि कसरी स्मरणयोग्य बनाउने ? निश्चय राज्यको पनि दायित्व हो । हेर्नु छ, राज्य र राज्यका निकायले यस सम्बन्धमा आफ्नो दायित्व कसरी निर्वाह गर्छ । हार्दिक श्रद्धा सुमन गुरुवर ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।