मुम्बई– फिल्ममा काम दिने भन्दै घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको र भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा भारतीय फिल्म निर्देशक शकील नूरानी पक्राउ परेका छन् ।
‘जोरू का गुलाम’का निर्देशक ७३ वर्षीय नूरानीलाई ३३ वर्षीया अभिनेत्रीले यौन शोषण र ब्ल्याकमेलिङको आरोपमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
अभिनेत्रीका अनुसार सन् २०१६ मा फिल्ममा काम दिने भन्दै नूरानीले उनलाई मालवानीस्थित घरमा बोलाएका थिए । त्यहाँ सफ्ट ड्रिङ्कमा नशालु पदार्थ मिसाएर खुवाएपछि आफू बेहोस भएको र होसमा आउँदा नूरानीले आफ्नो भिडियो बनाएको देखाएको उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छन् ।
भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै नूरानीले पटक–पटक यौन शोषण गरेको अभिनेत्रीको आरोप छ ।
उजुरीपछि फरार रहेका नूरानीलाई प्रहरीले करिब ४० दिनपछि सातारा जिल्लाको मेधास्थित फार्महाउसबाट पक्राउ गरेको हो । उनलाई अदालतमा पेश गरिएपछि १२ अगस्टसम्म प्रहरी हिरासतमा पठाइएको छ ।
यता, नूरानीका वकिल विकास सिंहले भने आफ्ना क्लाइन्टलाई झुटो मुद्दामा फसाइएको दाबी गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।