राजविराज- राजनीतिक अस्थिरता, बढ्दो वेरोजगारी र खेतीपातीमा समेत अपेक्षाअनुसार उत्पादन नभएपछि पैसा कमाउने विकल्प खोज्दै विदेशिने युवाको संख्या सप्तरीमा दिनप्रतिदिन बढ्दै गएको छ।
एक–दुई लाख खर्च गर्ने सामर्थ्य भएका युवाहरु खाडी मुलुक तथा राम्रो आम्दानी हुने अन्य देश ताक्छन् भने आर्थिक अवस्था कमजोर र उमेर ढल्किँदै गएका व्यक्ति भारतको दिल्ली र पञ्जाब पुग्ने गरेका छन्। तर, सप्तरीको वेल्हीचपेना गाउँपालिका वडा नं. ५ का मुसहर दुई दाजुभाइ भने यतिबेला गाउँकै उदाहरणीय बनेका छन्।
अधिकांश मुसहर परिवारमा बिहान-बेलुकाको छाक टार्ने समस्याले छोडेको छैन। प्रायः सबै मुसहर भूमिहीन भएका कारण रोजगारीका लागि विदेशिने गरेका छन्। कृषि मजदुरी गरेर कमाई ल्याएको रकम केही महिना परिवारको खर्चमै सकिएपछि फेरि उतै जाने उनीहरुको परम्परा नै बसिसकेको छ।
मुसहर बस्तीका दाजुभाइ मनरुप र बचकुन सदालाई भने रोजगारी खोज्दै विदेशिनु पर्ने बाध्यता अहिले छैन।
अर्काको खेत अधियाँमा कमाएरै उनीहरुले वर्षभरि खाएर बँचेको २० क्विन्टल अनाज बेच्नेसमेत गरेका छन्। कुनैबेला अरु जस्तै भूमिहीन रहेका उनीहरुले पाखुरी बजाएर मेहनतको कमाइले गाउँ छेउमै थोरै नम्बरी जग्गा पनि जोड्न भ्याएका छन्। अधियाँको कमाइले नै पोहोर ५ कठ्ठा खेत जोडेको बचकुनले बताए।

उनले भने, ‘६ वटी छोरीको बिहेदान पनि खेतीकै आयस्ताबाट सम्पन्न गरेँ।’
उनका भाइ मनरुपले चाहिँ आठ कठ्ठा खेत किनेका छन्।
दाजुभाइले जनही साढे दुई बिघा जग्गा अधियाँमा कमाएर लोभलाग्दो प्रगति गरेको वडा नं. ५ का अध्यक्ष लक्ष्मीनारायण ठाकुरले बताए। २७ घरपरिवारको बसोबास रहेको उक्त मुसहरिमा अधिकांशको नाममा एक धुर पनि जग्गा छैन। पुस्तौंदेखि ऐलानी जग्गामा झुप्रो बारेर गुजारा गर्दै आएका उनीहरुमध्येका अधिकांश रोजगारीका लागि दिल्ली, पञ्जाब नै धाउने गरेका छन्।
छरछिमेकका विदेशमा भौंतारिँदै गरेको देख्दा बचकुन दाजुभाइलाई अनौठो लाग्ने गरेको छ। ‘विदेश किन धाउनु? गर्न सके यहीँ सुन फल्छ’ मनरुपले भने, ‘हामी दाजुभाइले पनि चार-पाँच केजी धान ज्यालाको भरमा अरुको खेतमा १५ वर्षसम्म माटो काट्यौं, तर अहिले आफैंले खेत अधियाँमा लिएर कमाउन थालेपछि हाम्रो अवस्था विगतभन्दा निकै फेरिएको छ।’

नजिकको तीर्थ हेलाझैं गरी विदेशको भूमिमा पसिना बगाउनुभन्दा बालबच्चा र परिवारका साथमा आफ्नै गाउँठाउँमा मेहनत गर्दा यहीँ पनि राम्रो कमाउन सकिने उनीहरु बताउँछन्। काम गर्ने कृषि मजदुर अभावका कारण गाउँमा धेरैको खेत बाँझै रहे पनि आफ्नै गाउँका दाजुभाइ खेतिपातीकै कामका लागि बालबच्चा छोडेर विदेशिएको देख्दा दुःख लाग्ने गरेको उनीहरुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।