



‘ल्याब्रोडर’ जातको कुकुर रोसिल्ली सधैं आफ्नो दृष्टिविहीन मालिक माइकल हिक्सनसँगै अफिस जान्थिन्। माइकलको अफिस ‘ट्वीन टावर’ को ७८ औँ तल्लामा थियो। सेप्टेम्बर ११ मा ‘ट्वीन टावर’ मा भएको हमलामा रोसिल्लीले नै माइकलको उद्धार गरिन्।
‘ट्वीन टावर’ भवनमध्ये टावर–२ भत्किसकेको थियो। अनगिन्ति मानिस लासमा परिणत भइसकेका थिए। कसैकसैले भागेर ज्यान जोगाए। घाइतेहरु उद्धारको प्रतीक्षामा थिए।
टावर–१ भने भत्कन बाँकी थियो। धुलोधुवाँ चारैतर्फ फैलिसकेको थियो। कालो बादल मडारिएको आवाज प्रस्ट सुनिन्थ्यो।
टावर–१, जसलाई उत्तरी टावर भनेर पनि चिनिन्थ्यो। त्यही टावरमा कार्यरत माइकल हिक्सनलाई के भइरहेको छ, पत्तै थिएन। उनी ‘फर्च्युन फाइभ हन्ड्रेड’ कम्पनी क्वान्टमका सेल्स म्यानेजर थिए। विस्फोटको ठूलो आवाजले भवनमा कोलाहल मच्चिनुअघि उनी साथीभाइसँग मिलेर सेमिनारको तयारी गर्दै थिए।
‘मैले एक्कासि विस्फोटको आवाज सुनेँ। मानिसहरु चिच्याइरहेका थिए। भवनभित्र एकाएक कोलाहल मच्चियो,’ आफ्नो पुस्तक ‘द थन्डर डग’ मा उनले लेखेका छन्, ‘सबैको सातो गयो। उनीहरुको आवाजमा मृत्युको आभास पाइरहेको थिए। सबै रुँदै थिए। एकअर्कासँग बिदा मागिरहेका थिए।’
विस्फोटपछि उनले १३ हजार ३ सय ६८ फिट अग्लो भवन बिस्तारै दायाँतर्फ मोडिएको अनुभव गरे। यो क्रम छोटो समय चल्यो। जलेका कागज र डढेको वस्तुको गन्ध नाकमा आएर ठोकियो। झरनाको पानीसरह लाखौँ कागजहरु एकैपटक झ्यालबाट तल झरिरहेको आवाज कानमा ठोक्किरहेको थियो।
टावरमा भरखरै प्लेन ठोक्किएको थियो, त्यसैले माइकललाई भाग्ने समय पर्याप्त थियो। उनी भवनमा भएका अन्य आम मानिसभन्दा केही चलाख थिए। दृष्टिविहिन भएकाले होला, उनी विपत्तिको आभास पहिले नै पाउँथे।
‘आपतका बेला के गर्नुपर्छ? म सधैं चनाखो रहन्थेँ। यस्तो बेला लिफ्ट प्रयोग गर्न हुँदैन। सिँढीबाट तल झर्नुपर्छ। अत्तालिनुहुन्न,’ उनले भने। त्यतिबेला रोसिल्लीको उमेर ३ वर्ष ६ महिना थियो।
जतिबेला विस्फोट भयो। रोसिल्ली सधै झै शान्तमुद्रामा माइकल नजिकै बसिरहेकी थिइन्। अरु बेला केही विपत्ति आइपर्यो भने, उनी फरक व्यवहार देखाइहाल्थिन्। तर, त्यो दिन त्यति ठूलो घटना हुँदा पनि उनी शान्त थिइन्। माइकल १६ वर्ष अगाडिको घटनाको विषयमा प्रतिक्रिया दिन्छन्, ‘सायद म अतालिन्छु भनेर होला, उनले कुनै प्रतिक्रिया नजनाएकी। उनलाई महसुस भएको हुनुपर्छ। त्यति ठूलो बिल्डिङमा उनी एक मात्र मेरो सहारा थिइन्।’
पहिलेपहिले अफिस छाडेर घर जाने बेला रोसिल्लीलाई उनले जस्तो आदेश दिन्थे, यसपटक पनि त्यस्तै आदेश दिए। उनीहरुले अफिस छाडे र भर्याङ ‘बी’ तर्फ लागे।
‘भवन भत्किएपछि रोसिल्लीको माथि विभिन्न वस्तु खसे। ऊ रत्तिभर अतालिइनन्। उल्टो मलाई कहालीलाग्दो भग्नावशेषबाट सुरक्षित स्थानतर्फ डोर्याउन प्रयासरत थिइन,’ माइकल सम्झन्छन्।
रोसिल्ली र माइकल भग्नावशेष भवनको सिँढीबाट बाहिर निस्कन खोज्दा अन्य मानिस अलमलिरहेका थिए। उनीहरुको कहालीलाग्दो आवाज माइकलको कानमा ठोकिन पुगेको थियो।
विस्फोटपछिको तापले भवनको भुइँको मार्बल पग्लिएर झर्न थालेको थियो। ताप जति बढ्दै थियो, माइकलले आफ्नो रफ्तार पनि बढाउँदै लगे।
धुवाँको मुस्लोले पूरै वातावरणलाई असहज बनाएको थियो। तर, यी सबैको परवाह नगरी रोसिल्लीले आफ्नो मालिक माइकललाई सिँढी ‘बी’ को माथि ल्याइपुर्याइन्। ७८ तलाबाट तल झरेका माइकलले सिँढी ‘बी’ सम्म आइपुग्दा १४ सय ६३ पाइला चालिसकेका थिए।
‘झर्दै गर्दा मेरो नाकमा मट्टितेलको गन्ध आयो। धावनमार्गमा पटकपटक मैले त्यस्तै गन्ध सुँघेको थिए। मैल अनुमान लगाए, यो हवाइजहाजको इन्धन हो।’
यसपछि माइकललाई लाग्यो, ‘ट्वीन टावर’ मा कतै प्लेन त ठोकिएको होइन! उनको तल झर्ने क्रम रोकिएको छैन। अघि बढ्दै गर्दा माइकल प्रत्येक तलामा जलिरहेको ढोका भेट्थे। हवाइ इन्धनका कारण फैलिएको आगोको गति यति तीव्र थियो, कैयौंपल्ट माइकलको आँखा आगोको रापले पोल्थ्यो।
आगो फैलिइरहेकै अवस्थामा माइकल ७० औँ तलामा पुगेका थिए। बढ्दै गएको तापक्रमले उनलाई स्वास फेर्न सकस पारिरहेको थियो।
‘घाइते अवस्थाका मानिसहरु मेरोअगाडि पछाडि दौडिरहेको आवाज कैयौं पल्ट मेरो कानमा ठोकियो। म सबैलाई बाटो छोड्दै रोसिल्लीलाई आफ्नो गोडामुनी च्याप्थे,’ माइकल स्मरण गर्छन्।
तल उत्रिँदै गर्दा भुइँमा लडेको अनगिन्ति शरीरमा ठोकिएपछि उनी आफैसँग दौडिरहेका अन्य व्यक्तिलाई सोध्थे। को हुन्, उनी। जवाफ आउँथ्यो– ‘महिला हुन्। आगोले जलेकी छिन्।’
यो सुनेर मुख अमिल्याए पनि उनी अतालिएनन्। रोसिल्ली सम्झेर शान्त रहे। ‘मानिसहरु सोच्छन, दृष्टिविहीन भएको हुनाले मलाई बाहिर आउन गाह्रो भएन। वास्तवमा भित्रको चित्र देख्न नसके पनि दर्दनाक अवस्थाको कल्पना गर्न सक्छु म,' उनी भन्छन्।
विभिन्न बाधा छिचोल्दै कुकुरको सहायताले तल झरेको देखेपछि एक महिला अतालिँदै माइकलसमक्ष आइपुगिन्। र, शंकाको दृष्टिले माइकललाई सोधिन्– ‘के हामी कुकुरको सहायताले बाहिर निस्कन सक्छौ?’ माइकलले उनलाई विश्वास गर्न सुझाव दिए र सँगै सिँढीबाट उत्रिए।
झर्दै गर्दा माइकलले धुवाँको मुस्लो छिचोले, आगोको राँको छले। अब उनलाई नयाँ संशयले सतायो– ‘झर्दै गर्दा बत्ती झ्याप्प गयो भने!’
न्युयोर्कवासी कष्टमा थिए। बत्ती गएको भए अवस्था अझै दयनीय बन्ने पक्का थियो। तर, माइकलका लागि सबैभन्दा ठूलो आत्मविश्वास नै रोसिल्ली थिई। त्यसैले उनले आफैलाई ढाडस दिए–‘आत्तिनु पर्दैन! रोसिल्लीले साथ दिनेछिन्।’
रोसिल्लीले सुरक्षित बाटो पहिल्याउँदै माइकलसहित केहीलाई ७० तलाबाट २० मिनेटमा ३० औँ तलामा ल्याइपुर्याइन्। ३० औँ तलामा अग्नि नियन्त्रक यन्त्र आइसकेको थियो। आगो कुन कुनामा लागेको छ, उनीहरुलाई पत्ता लगाउन गाह्रो परिरहेको थियो। अग्नि नियन्त्रक कराइरहेका थिए—‘धेरै मान्छे नर्फिने भए। यहीँ गुम्सिएर मर्ने भए।’
रोसिल्लीको सहयोगमा माइकल २० औँ तलामा पुगे। अग्नि नियन्त्रकले छोडेको पानीका कारण भुइँ चिप्लो थियो।
‘रोसिल्ली चिप्लिएर घाइते भई भने गाह्रो हुुन्छ’, दौडिरहेको अवस्थामै माइकलले सोचे।
७० तल्लाबाट २० मिनेटमा ३० तलामा झरेका माइकल लखतरान भइसकेका थिए। तल उत्रिन उनलाई सकस भइरहेको थियो।
‘छैटौं तल्लामा पुग्दा मसँगै हिड्ने एक जनाले धैर्य नै गुमाइसकेका थिए,’ उनले भने। थाके पनि उनीहरु लबीमा पुगे। जहाँ प्रहरी र अग्नि नियन्त्रकले सबैको उद्धार गरिरहेका थिए। ७० तलाबाट तल झर्न माइकललाई करिब १ घन्टा लाग्यो।
तल झरेर माइकलले श्रीमतीलाई फोन गरे। तर, मोबाइलको रिङ गइरहेको थिएन। यतिबेलै प्रहरीको एउटा आवाज उनको कानमा आएर ठोक्कियो—‘भाग, टावर ढल्दैछ।’
‘यसको केही सेकेन्डमै सिसा पड्किएर भुइँमा छताछुल्ल भयो। फलामको त्रासदीपूर्ण आवाज मेरो मानसपटलमा अझै ताजा छ। म जीवित हुँदासम्म ती आवाज बिर्सन सक्दिन,’ माइकल भन्छन्।
उनी सुरक्षित स्थानमा पुगेको १० सेकेन्डमा ‘ट्वीन टावर’ ध्वस्त भयो। सबै ज्यान जोगाउन दौडिरहेका थिए। रोसिल्लीसँगै ज्यान जोगाउन माइकल पनि भागे।
भाग्दै गर्दा धुवाँको मुस्लोले उनीहरुलाई छोपेको थियो। मुस्लोमा हराएका माइकललाई यतिबेला पनि रोसिल्लीले ‘गाइड’ गरिरहेकी थिइन्।
‘फोक्सोमा धुवाँ भरिएर झन्डै मरेको। तर पनि रोसिल्लीले मलाई गाइड गर्न छोडिन,’ उनले भने।
माइकल अन्ततः सुरक्षित स्थानमा पुगे। भन्छन्, ‘रोसिल्लीकै कारण मसहित धेरैको ज्यान बच्यो। उद्धारका लागि रोसिल्लीलाई धन्यवाद।’
रोसिल्लीलाई सरकारले पछि ‘हिरो डग’ को अवार्डबाट सम्मानित गर्यो। यिनै ‘हिरो डग’ को निधन जुलाई १२, २०११ मा भएको थियो। उनीप्रति संवेदना जताउन माइकल हिक्सनले रोसिल्ली बारे एउटा पुस्तक नै तयार पारे। जुन पुस्तक अहिले अधिकांश अमेरिकीहरुको घरमा सुरक्षित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।