मान्म- म्यादी प्रहरीहरुले झडपमा उत्रिँदै आगजनी गरेर स्थिति नियन्त्रण बाहिर गएपछि शनिबार साँझ स्थानीय प्रशासनले कालिकोट सदरमुकाम मान्ममा निषेधाज्ञा जारी गरेको छ।
शुक्रबार सेवा-सुविधाको विवाद हुँदा प्रहरीसँगको झडपका क्रममा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि आक्रोशित बनेका म्यादी प्रहरी र स्थानीय शनिबार दिनभर प्रदर्शनमा उत्रेका थिए। प्रहरी र आन्दोलनरत पक्षबीच शनिबार दिनभर पटक-पटक झडप भएपछि प्रशासनले शनिबार साँझदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि कर्फ्यु घोषणा गरेको हो।
मृतकलाई सहिद घोषणा र दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने र शव पनि नबुझ्ने आन्दोलनरत पक्षले चेतावनी दिएका छन्। तत्काल माग पूरा गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा करिब एक दर्जन घाइते भएका छन्।
स्थानीय र म्यादीले प्रदर्शनका क्रममा प्रहरीको तालिम केन्द्रमा आगजनी गरेका छन्। प्रदर्शनका कारण दिनभर यातायात समेत अवरुद्ध भएको थियो। सुरक्षाका लागि बाह्य जिल्लाबाट समेत सुरक्षाकर्मी लगेर परिचालन गरिएको छ।
यसैबीच मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेश प्रधान, डिआइजी सूर्यविक्रम शाहसहितको टोली कालिकोट पुगे पनि आन्दोलनरत पक्षसँग वार्ता हुन सकेको छैन।
शुक्रबारको झडपमा प्रहरीको गोलीबाट म्यादी प्रहरी ऐडीको मृत्यु भएको दाबी आन्दोलनकारी पक्षले लगाए पनि प्रहरीले भने घटना रहस्यमय भएको भन्दै प्रहरीले छानबिन अघि बढाएको छ।
सरकारले शुक्रबार मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। यसका साथै गृह मन्त्रालयले सहसचिव डा. मानबहादुर विश्वकर्मा संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।