काठमाडौं- राजस्व अनुसन्धान विभागले अगामी साउन महिनादेखि अनलाइन ट्र्याकिङ प्रणाली सुरु गर्ने भएको छ। ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’लागु गरी मालबाहक सवारी सुरक्षामा नयाँ प्रविधि लागू गर्न लागिएको विभागले उल्लेख गरेको छ।
राजश्व चुहावट नियन्त्रण, अनुसन्धान तथा नियन्त्रणका लागि भन्दै विभागले उक्त प्रणाली लागू गर्न लागेको हो। विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार आगामी आर्थिक वर्षको सुरुदेखि मालवस्तु ढुवानी गर्ने साधनहरुले मालसामान ओसार–पसार गर्नुअघि तथा ढुवानी कम्पनी, व्यवसायीले वा आयातकर्ताले मालसामानको विवरण केन्द्रीय अनलाईन सूचना प्रणालीमा प्रवेश गराएर मात्र ओसार–पसार गर्न पाउनेछन्।
यो प्रणाली लागू गर्दा बिलबिजकको झन्झटबाट मुक्त हुने मात्र नभई सवारी साधन कहाँ र कस्तो अवस्थामा के सामान बोकेर गुडिरहेको छ भनेर जानकारी लिन सकिनेछ। यो प्रविधिमा आबद्ध भएपछि सवारी साधनहरु आन्तरिक ओसारपसार निर्बाध रुपमा गर्न सक्नेछन्।
राजस्व अनुसन्धानका चेकपोष्ट रहने छैनन् भने बिलबिजक बुझाउने झन्झट पनि हुने छैन। यस्तो प्रणाली लागु गरेपछि वैध व्यापार गर्नेलाई सजिलो हुने र अवैध व्यापार गर्नेहरु निरुत्साहित हुने महानिर्देशक मैनाली बताउँछन्।
‘यो प्रणाली लागू गर्दा वैध व्यापारमा सहजीकरण भई अवैधमा निगरानी बढने, ढुवानी लागत घट्ने, आर्थिक कारोबार पारदर्शी र भरपर्दो हुने, सहज रुपमा अनुगमन गर्न सकिने, छलीको उजुरी सत्य भए/नभएको परीक्षण गर्न सहज हुने र जुनसुकै स्थानमा गएर चेकजाँच गर्न सकिने हुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।