काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई असार २१ गतेभित्र अनुदान सम्झौता गर्न अपिल गरेको छ। यसका साथै असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिइसक्न सबै भुकम्पपीडितलाइ आग्रह गरेको छ। उक्त समयसीमाभित्र पहिले किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने पनि प्राधिकरणले जनाएको छ।
निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही रहेपनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए।
सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३ सय १७ ले मात्र अनुदान सम्झौता गरेका छन्।
भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्नेछ।
त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीलाई यही असार मसान्तभित्र पहिलो किस्ता वापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ।
अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३ सय १७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५ सय ४२ ले पहिलो किस्ता लिएका छन्।
असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ।
निजी आवास अनुदानको पहिलो किस्तावापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन्। प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन्।
प्राधिकरणले अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई प्रोत्साहनका लागि स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।