काठमाडौं- राजश्व अनुसन्धान विभागले नक्कली भ्याटबिल बनाएर अर्बौ रुपैयाँ बराबरको राजश्व छली गर्ने परिपाटी बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार हाल ८० भन्दा बढी कम्पनी नक्कली भ्याट बिल बनाउने र ७ सयभन्दा बढी व्यापारिक फर्महरुले त्यस्तो भ्याट बिल खरिद गर्दै आएका छन्।
‘नक्कली कारोबार गर्ने, नक्कली भ्याटबिल बनाउने, नक्कली बिलबिजक जारी गर्ने ७ सयभन्दा बढी कम्पनीहरु पहिचान भएका छन्। तीमध्ये ५६ वटा कम्पनीमा विभागले अनुसन्धान गरिरहेको छ,’ महानिर्देशक मैनालीले भने।
विभागले नक्कली भ्याट बिललगायत कागजात बनाएर बेच्ने मात्र ८० भन्दा बढी कम्पनी पहिचान गरेको छ। यसरी नक्कली कारोबार गरेर राजश्व छल्ने कम्पनीलाई विभागले अनुसन्धानको दायरामा राखेको मैनालीको भनाई छ।
यसरी व्यापारिक प्रयोजनमा नक्कली कागजात प्रयोगका कारण मुलुकले वर्षेनी अर्बौं रुपैयाँ बराबरको राजश्व गुमाईरहेको छ। ‘चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात् ११ महिना अवधिमा मात्र करिब ७ अर्ब रुपैयाँ बराबरको नक्कली भ्याटबिल जारी भएको हामीले पाएका छौं। जसबाट थप ४ अर्ब रुपैयाँ राजश्व पनि मुलुकले गुमाएको छ,’ महानिर्देशक मैनालीले भने।
अहिले देखिएको यस्तो समस्या मध्यनजर गर्दै विभागले राजश्व चुहावट, अनुसन्धान तथा नियन्त्रणका लागि आगामी आर्थिक वर्षबाट वेभमा आधारित भेहिकल एन्ड कन्साईटमेन्ट ट्राकिङ सिस्टम अनिवार्य रुपमा लागु गर्ने भएको छ।
एक स्थानबाट अर्को स्थानसम्म मालवस्तु ढुवानी गर्ने साधनहरुले मालसामान ओसारपसार गर्नुअघि ढुवानी कम्पनी वा आयातकर्ताले मालसामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसार पसार गर्न पाउने गरी नयाँ सफ्टवेयर प्रणाली लागू हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।