काठमाडौं- कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
आज प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन्।
प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ र पूँजीगततर्फ (वित्तीय व्यवस्थापनसमेत गरी) २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेशले आगामी आवको बजेटका श्रोतका रुपमा आन्तरिक राजश्वबाट २५ करोड १० लाख ४१ हजार रुपैयाँ, चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बाँकी रकमबाट ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँट गर्दा विनियोजन भएको ७ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ स्रोतका रुपमा उल्लेख गरेको छ।
यसैगरी, प्राकृतिक श्रोतको रोयल्टीबाट प्राप्त हुने २ करोड ७४ लाख, वित्तीय समानिकरणबाट प्राप्त हुने ९ अर्ब ८४ करोड ७३ लाख र शसर्त अनुदानतर्फ २ अर्ब २७ करोड २७ लाख रुपैयाँ अनुमान गरिएको छ।
बजेटमा समपूरक र विशेष अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ तथा ५५ करोड रुपैयाँ आन्तरिक ऋणबाट परिचालन गर्ने सरकारको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।