गुल्मी- दरबार गाउँपालिका वलिथुममा बसोबास गर्ने माझीहरु न्याय खोज्दै सदरमुकाम तम्घास आएका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मासँग आफूहरु अन्यायमा परेको गुनासो गर्दै न्यायका दिलाउन माग गरे।
स्थानीय लोकबहादुर राकसकोटी, कमल थापा लगायतका व्यक्तिहरुले आफूमाथि कुटपिट गरेको किटानी जाहेरीसमेत दिएका माझीहरुले निमित्त प्रमुख जिल्ला अधिकारीसमक्ष सुरक्षाको माग गरेका छन्।
चुनावको बेला कांग्रेसलाई भोट दिएको भन्दै आफूहरुमाथि कुटपिट भएको मनिकला माझीले बताइन्। 'बूढाबूढी पनि भनेनन्, बच्चाबच्ची पनि भनेनन्, हामी सबैलाई कुटे,' अर्का पीडित प्रेमबहादुर माझीले भने।
सहरी विकास कार्यक्रम अन्तर्गत बन्न लागेका घरको समेत मापदण्ड नभएको भन्दै दु:ख दिन थालेको उनको भनाइ छ। 'इन्जिनियर सरले भनेअनुसार बनाएका छौं, तर हामीलाई यो छड भएन, त्यो गारो भएन भन्दै दुःख दिइरहेका छन्,' उनले भने।
पूर्वसांसद चन्द्र भण्डारीको पहलमा बन्न लागेको माझी बस्ती र विद्यालय भवनको निर्माण कार्यमा समेत आफूलाई कुटपिट गर्नेहरुले अवरोध गरेको माझीहरुले बताएका छन्।
वलिथुमबाट आएका ४० जनाभन्दा बढी माझीहरूको कुरा सुनेपछि निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले दोषीहरुलाई कारबाही गरिने र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने आश्वासन दिए।
पूर्वसांसद भण्डारीले माझीका लागि ४ सय घर बनाउने घोषणा गरेका थिए भने हरेक वर्ष तिनै माझी बस्तीहरुमा आफूले दशैं मनाउने गरेका थिए।
चार वर्ष अगाडिसम्म विकास र अधिकारका कुरा थाहा नपाएका माझीहरु अहिले अधिकारका लागि आफै सक्रिय हुन थालेका छन्। उनीहरुको चेतनास्तरमा धेरै सुधार आएको पूर्वसांसद भण्डारी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।