काठमाडौं– भारतको पश्चिमी राज्य गुजरातको बहुचर्चित शहर बरौडाकी राजकुमारी आशाराज्य लक्ष्मीदेवी गायकवाड विवाहको ४७ वर्षको दौरान अनगिन्ती पटक आफ्नो माइती देश नेपाल आइन्।
सन् १९७० मा बरौडाका राजकुमार संग्रामसिंह गायकवाडसँग विवाह भएर सुरुसुरुमा माइती फर्किंदा उनी प्रायः पारिवारिक भेटघाटमै रमाउँथिन्।
तर, २०१० मा नेपाल फर्किएपछि उनको उद्देश्यले अर्के रुप लियो। उनी पारिवारिक भेटघाटभन्दा पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको खस्कँदै गएको जीवनस्तरबाट निकै चिन्तित देखिइन्। त्यसैले उनले त्यही वर्ष ‘होप फर नेपाल’ नामक परोपकारी संस्थालाई जन्म दिइन्।
यो संस्था अहिले भारत र नेपाल दुबै देशमा आर्थिक स्थिति कमजोर भएका नेपालीहरूको शिक्षा, स्वास्थ्य तथा प्रतिभाशाली खेलाडीको सहयोगका लागि सक्रिय छ।
आशा गायकवाड नेपालको दोस्रो प्रभावशाली राणा प्रधानमन्त्री चन्द्र शमशेरको खलकलाई प्रतिनिधित्व गर्छिन्। उनको हजुरबुवा सिंह शमशेर राणा हुन्, जो दोस्रो विश्व युद्धताका बेलायतको लागि नेपाली राजदूत थिए। उनकै छोरा अर्जुनशमशेर राणाका ५ छोरीमध्ये चौथो छोरीको रूपमा उनको जन्म सिंह महल (हाल थापाथलीस्थित नेपाल राष्ट्र बैंकको भवन) मा भएको थियो।
राणाकालमा रोलवाला (शासन गर्ने) राणाजीहरूको फूर्तिफार्ती नै बेग्लै थियो। तर पनि महिलाहरूले अदबमा बस्नुपर्ने नियम थियो। महिलाहरूलाई अनुमति बिना महलबाट बाहिर निस्किन प्रतिबन्ध थियो। यही परिवेशमा सन् १९४७ मा आशाको जन्म भयो। उनी अहिले पनि विगतको कुरा सम्झिँदा रोमाञ्चित हुन्छिन्।
यसै साता काठमाडौंमा भेटिएकी ७० वर्षीय बरौडाकी यी राजकुमारीले नेपाल लाइभसँग भनिन्, ‘हाम्रो रहनसहन बेलायती स्टाइलको भए पनि महिलाहरूले अदबमा बस्नु पथ्र्यो। जुनसुकै परिस्थितिमा घर सम्हाल्न सक्षम हुने पाठ हामीलाई सिकाइन्थ्यो।’
उनलाई सानोमा सिंह महलमा भएका अनेकौैं घटना अहिले पनि कण्ठ जस्तै छ। सिंह महलभित्रै ठूलो बगैंचा, फुटबल मैदान र होली खेल्ने घर बनाइएको थियो। हिँड्दा खुट्टामा धुलो लाग्छ भनेर केटाकेटीलाई दुईवटा मोजा लगाउन अनिवार्य गरिएको थियो।
बेलायती राजघरानाका किशोरीहरूझैं घरबाट बाहिर निस्किँदा सबैले लामो लुगा लगाउने, टाउकोमा टोपी र हातमा पञ्जा पहिरिनु पर्दथ्यो। हातमा काँडाले चुप्छ भनेर फुल टिप्न मनाही गरिएको थियो। कुनै फूल टिप्नुप¥यो भने आफूसँगै हिडेका धाइआमालाई जनाउदिनु पथ्र्यो। उनीहरूले फूल टिपेर किस्तीमा राखिदिन्थे।
यति धेरै राजषी ठाँट हुँदा पनि छोरीहरूलाई महलभित्रै घोडा चढ्न र डुंगा चलाउन सिकाइन्थ्यो।
‘खाना पकाउन हामीले अनिवार्य सिक्नै पर्दथ्यो, धर्म–कर्म सिकाउन पण्डितहरूलाई घरमै बोलाएर विभिन्न श्लोक र पाठहरू सिकाइन्थ्यो,’ उनले भनिन्, ‘स्विमिङ कस्टम लगाउनुपर्ने हुँदा स्विमिङ गर्न मात्र हामीलाई सिकाइएन्; नभए सबै सिक्नु पर्दथ्यो।’
चन्द्रशमशेरको पालामा कमान्डिङ कर्णेल रहेका सिंह शमशेर आफ्ना नातिनीहरूलाई भन्ने गर्थे रे, ‘बिहे भएर गएपछि मेरो नातिनीहरूले आफ्नो घरमा कुनै पनि कुरा जान्दिनँ भन्न पाइँदैन।’
उनले आफ्नो नातिनीहरूलाई निकै अनुशासनमा राखेका थिए। उनीहरूले लुगा पनि दरबन्दी अनुसार लगाउनु पथ्र्यो।

२००७ सालमा नेपालमा प्रजातन्त्रको लागि आन्दोलन हुँदा उनी साँढे तीन वर्षकी मात्र थिइन्। त्यसैले उनको बुवाले उनलाई पढ्न भारतको देहरादुनस्थित मसौरीको जेसस एन्ड मेरी कन्भेन्ट स्कुल पठाएका थिए। पछि उनले पुनेमा पनि अध्ययन गरिन्।
नेपालको पद्कन्याबाट स्नातकसम्मको अध्ययन गरेकी आशालाई यसपछि बरौडाका अन्तिम शासक फत्तेसिंह राव गायकवाडको परिवारमा विवाहका लागि प्रस्ताव आयो।
ब्रिटिशकालमा भारतमा ५ वटा राजघराना निकै प्रभावशाली मानिन्थे। ती मध्ये गायकवाड राजघराना पनि एक हो। हैदरबादका निजाम, जम्मु कश्मिरका महाराजा, ग्वालियर र मैसुरका राजासँगै बरौडाका गायकवाड महाराजलाई ब्रिटिश सरकारले २१ तोपको सलामी दिने गरेको थियो। आशाको विवाह भएको अर्को वर्ष सन् १९७१ देखि बरौडाको राजकाज पनि भारतमा गाभियो।
आशालाई नेपालमै हुँदा सिंह महल ठूलो लाग्थ्यो। तर, जब उनी विवाह गरेर बरौडा खानदानको राजमहल लक्ष्मी भिल्ला पुगिन्, त्यहाँको वैभव देखेर उनी थप चकित बनेकी थिइन्। त्यो महल बेलायती महारानी बसोबास गर्ने बकिङघम प्यालेसभन्दा ४ गुणा ठूलो अर्थात ५ सयभन्दा बढी एक्कडमा फैलिएको थियो।
‘महल भित्रै जू थियो। तर पनि मलाई गर्मीले अत्यास लाग्थ्यो। त्यतिबेला काठमाडौं निकै चिसो थियो। यहाँ घरबाट पहाड र हिमाल देखिन्थ्यो। त्यहाँ केही वर्ष त घुलमिल गर्नै गाह्रो पर्यो,’ उनले भनिन्।
हाल बरौडा महिला क्रिकेट संघकी अध्यक्ष, गायकवाड इन्भेष्टमेन्ट कर्पोरेशनकी कार्यकारी निर्देशक, सिभालिक गल्फ एन्ड फरेष्ट रिसोर्ट लिमिटेडलगायत तप्ती सिन्थेटिक प्राइभेट लिमिटेड, अन्नपूर्ण टेक्टरिसर्स प्राली, अलौकिक ट्रेडिङ एन्ड इन्भेष्टमेन्ट प्रालीको निर्देशक रहेकी आशा विगत ७ वर्षदेखि आफ्नो माइतीमा समाजसेवा गरिरहेकी छिन्।
उनले २०१५ सालमा नेपालमा आएको महाभूकम्पमा ठूलो राहतको काम गरेकी थिइन्। उनले आफ्नो समाजिक संस्था ‘होप फर नेपाल’ मार्फत देशको १४ भिन्न जिल्लामा राहत पुर्याइन्। गत वर्ष तराईमा बाढी जाँदा पनि उनको संस्थाले ठूलो परिमाणमा राहतको काम गरेको थियो।
उनको मानवीय कार्यको उच्च मूल्यांकन गर्दै युनाइटेड नेशन (युएन) ले सन् २०१५ मा न्युयोर्कमा आयोजना भएको कार्यक्रममा उनलाई तेस्रो जिओडी अर्थात एसियाको ‘रोयल ओमन अफ दि एयर’ को अवार्डबाट सम्मानित गरेको थियो।
उनी अवार्डबाट थप उर्जा मिलेको बताउँछिन्। ‘हुन त मैले आफ्नो जन्मभूमिमा काम गरेकी थिएँ। तर, यसको मूल्याङ्कन भएछ,’ उनले भनिन्। उनी अहिले नेपालको बिग्रँदो अवस्थाबाट त्यति खुसी छैनन्। नेपालको आधाजसो जनसंख्या विदेशमा रहेकोमा पनि उनी दुःखी छिन्। अझ, भारतमा दयनीय जीवनयापन गरिरहेका नेपालीलाई देखेर उनको चिन्ता बढ्दो छ।
उनी नेपाल र भारतमा दुःख पाएका नेपालीहरूको हितमा काम गर्न लालायित छिन्। उनी विशेषतः शिक्षा र खेलकुदमा लगानी गर्न तयारी देखिन्छिन्। उनको तर्क छ, खेलकुदले मानिसलाई अनुशासित बनाउँछ भने शिक्षाले सबैलाई आफ्नो बलबुताले उभिन सिकाउँछ। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।