काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा परेपछि स्वदेश फर्किने भएका छन्।
पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि बोलाएपछि उनी पाकिस्तान जान लागेका हुन्।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि एनपीएलमा फर्किने सम्भावना छ। उनको अनुपस्थितिमा कर्णालीले अर्को खेलाडी ल्याउने तयारी गरेको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको घिमिरेले बताए। कर्णाली उक्त रकम तिर्न तयार भए पनि फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि उनलाई नेपालमै राख्न नसकिएको उनले बताए।
‘हामी २५ हजार डलर पनि तिर्न तयार थियौं। तर, राष्ट्रिय टोलीमा परेपछि फरहान फिर्ता हुनुको विकल्प रहेन,’ घिमिरेले भने। फरहान फर्किएपछि कर्णालीले उनलाई पुनः टोलीमा समावेश गर्ने अपेक्षा गरेको छ। कर्णालीले अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि अनुबन्ध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।