भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् । भूमिहीन र सहकारीपीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी चितवन आएकी हुन् ।
सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारीपीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन् ।
समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन् । मन्त्री रावलले भनिन्, ‘धेरै समयदेखि उहाँहरू पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ ।’
बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफैँ पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन् । मन्त्री रावलले भनिन्, ‘सरकारले जनताको हकहितमा के काम गरिरहेको छ ? आगामी कार्ययोजना के छ ? भन्नेबारे जनतालाई बताउनुपर्ने छ । उहाँहरू त्यो सुन्न आतुर हुनुहुन्छ ।’
अहिले बसोबास गरेको ठाउँबाट उठाइदिने हो कि भन्ने विषयलाई पनि चिर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले भनिन्, ‘त्यस्तो हुँदैन । हामीले काम गरिरहेका छौँ । कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ ।’
TVS NepalPresidential
मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन् ।
उनले भनिन्, ‘जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौँ । कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।