काठमाडौं- नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन लघुवित्त संस्थाहरुलाई सचेत गराए। शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएको बताए।
गभर्नर नेपालले असारभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको स्थापना गरिसक्ने घोषणा पनि गरे। ७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था पुगिसकेको र बाँकी स्थानीय तहमा असारभित्रै बैंक तथा वित्तिय संस्थाको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ।
कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए। समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर अभियानले ठूलो राहत दिएको उनको भनाइ छ।
अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषि कर्जा प्रवाह गर्न नदिने निर्णय नेपाल राष्ट्र बैंकले गरेकोमा भने दुःख व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।