काठमाडौं- सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा गरेको भाडा वृद्धि तत्कालका लागि फिर्ता लिएको छ।
यातायात व्यवस्था विभागले बिहिबार अबेर विज्ञप्ति जारी गर्दै भाडा वृद्धिका सम्बन्धमा थप छलफल आवश्यक भएकाले तत्काल लागू नहुने जानकारी दिएको छ।
यसका साथै रात्रीकालीन बस सेवा संचालन गर्ने निर्णय पनि तत्कालका लागि स्थगित गरिएकाे विभागकाे सूचनामा उल्लेख छ।
विभागले बिहिबार नै सबै खाले सवारी साधनमा लागू हुने गरी छोटो दुरीमा १२ प्रतिशत र लामो दुरीमा २० प्रतिशतसम्म भाडा बढाएको थियो।
विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको उल्लेख गरेको थियो।
वृद्धि भएको भाडादर असार १ गतेबाट लागू तय भएको थियो।
अर्को सूचना प्रकाशित नभएसम्म साविककै भाडादर लागू हुने विभागले स्पष्ट पारेको छ।
.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।