काठमाडौँ- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली कम्पनीलाई नेपालमा लगानीका लागि प्रधानमन्त्रीको आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले बुधबार फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासङ्घले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए।
प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेको पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरेका थिए।
बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गरेको स्वागत समारोहमा सहभागि भएका थिए।
प्रधानमन्त्री ओली बेलायतको ३ दिने औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि बुधबारै भूमिगत रेलमार्फत राजधानी पेरिस पुगेका थिए।
पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।