काठमाडौं- चीनसँगको हवाई सम्झौता यही साउन ७ र ८ गते पुनरावलोकन हुने भएको छ। हवाई सम्झौता चीनको बेइजिङमा हुने भएको छ। तर, सम्झौतामा जाने नेपाली प्रतिनिधिमण्डलमा को-को रहने भन्ने विषय टुंगो लागिसकेको छैन।
बेइजिङ वार्ताबाट सन् २०१४ मा भएको पछिल्लो हवाई सम्झौताको पुनरावलोकन हुन लागको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिव सुरेश आचार्यले जानकारी दिए। चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६/५६ उडान गर्न सकिने उल्लेख छ। यो सहमतिबाट बढाएर सातामा ७० उडान पुर्याइएको छ। अहिले चीन र नेपाल सरकारका बीचमा द्विपक्षीय वार्ता भई हवाई सम्झौता पुनरावलोकन हुन लागेको छ।
‘नेपाल र चीनबीच भएको पछिल्लो सम्झौताअनुसार चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र विमान आउन पाउँछन्,' उनले भने, ‘अबको सम्झौतामा सबै विमानस्थलमा उडान गर्न पाउने गरी सम्झौता हुन्छ। त्यसमा पनि मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समेत प्राथमिकतामा राखेर हवाई सम्झौता पुनरावलोकन हुन्छ।’
मन्त्रालयले 'नेपाल भ्रमण वर्ष, २०२०'लाई लक्षित गर्दै हवाई सम्झौता पुनरावलोकन गर्न लागेको उनको भनाइ छ। अहिले सातामा ७० वटा उडान गर्न पाउने सहमतिमा उडान संख्या बढाउने वा नबढाउने विषयमा भने वार्ताकै क्रममा टुंगो लाग्ने उनले दाबी गरे।
नेपालले अहिले पुरानो सम्झौताअनुसार चीनका ७ वटा सहरमा उडान गर्न पाउने भए पनि अबको हवाई सम्झौता पुनरावलोकनमा भने सबै सहरमा उडान गर्न पाउने गरी सम्झौता हुनसक्ने उनले जानकारी दिए।
तर, अहिले नेपाली वायुसेवा कम्पनीले चीन उडान गर्न भने पाएका छैनन्। 'नेपाल एयरलाइन्सले पछिल्लो समय चीनको ग्वाङ्झाउमा उडानको तयारी गरिरहेको छ। पुरानो सम्झौतामा 'बेइजिङ, सांघाई, ल्हासा, ग्वाङ्झाउ, कुनमिङ, छेन्दु र सियान गरी ७ सहरमा नेपाली विमान उड्न सक्ने' उल्लेख छ।
अहिले चीनबाट ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन्। चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन्। नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन जान चाहे पनि व्यस्त विमानस्थलहरुले 'स्लट' दिन नसक्दा उडान हुन सकिरहेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।