सुदूरपश्चिम मन्त्रिपरिषद्‌द्वारा विनियोजन बजेटमा सहमति प्रदान, २९ अर्बको बजेट आउने

नेपाल लाइभ | २०७६ जेठ ३० बिहीबार | Thursday, June 13, 2019 ०९:१४:०० मा प्रकाशित

फाइल तस्बिर।


धनगढी- सुदूरपश्चिम प्रदेशले सरकार आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरेको छ। असार १ गते सार्वजनिक गर्ने वार्षिक बजेटको तयारीस्वरुप बुधबार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकबाट विनियोजन बजेटमा सहमति गरिएको जनाएको छ।

बैठकले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई आर्थिक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरेको छ। मन्त्रिपरिषद् बैठकको सहमतिसँगै अब प्रदेशसभामा सरकारले बजेट प्रस्तुत गर्न सक्ने बाटो खुलेको छ। चालू आर्थिक वर्ष २०७५/०७६ का लागि २५ अर्ब रुपैयाँको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २९ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको बताइएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले ‘सरकारले कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्ग लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याउने’ बताए। उनले सरकारले बजेटमार्फत विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए।

सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट ६० प्रतिशतको हाराहारीमा मात्रै खर्च गर्नसक्ने जनाएको छ। विगतमा संयन्त्र अभावमा बजेट खर्च गर्न नसकिए पनि अब कर्मचारी समायोजन लगायतका कुराहरू साम्य भइसकेकाले पूर्ण कार्यान्वयन हुने मन्त्री बोहराको दाबी छ। टुक्रे नभएर विशेष कार्यक्रम र योजनामार्फत मात्रै बजेट ल्याइने समेत उनको भनाइ छ।