नेपाल गुणस्तर चिह्न नवीकरण शुल्क बढ्यो, ठुला उद्योगले १ लाख तिर्नुपर्ने

नेपाल लाइभ | २०७६ जेठ २९ बुधबार | Wednesday, June 12, 2019 १९:२३:०० मा प्रकाशित

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्न (एनएस) नवीकरण शूल्क वृद्धि गरेको छ।

विभागले एनएस नवीकरणमा लिँदै आएको पुरानो शूल्कमा ५ सय ६६ प्रतिशतसम्म बढाएको छ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार एनएस नवीकरण शुल्क १० वर्षपछि नयाँ शुल्क निर्धारण गर्दै ठूला उद्योगको नवीकरण दस्तुर १५ हजारबाट एक लाख रुपैयाँसम्म पुगेको जानकारी दिए।

‘लामो समय देखि एनएस नवीकरण शूल्क परिमार्जन भएको थिएन,' उनले भने, ‘विभागले समय सापेक्षिक हुनेगरी नवीकरण दस्तुरमा केही परिमार्जन गरको हो।’

विभागले ठुला उद्योगको एनएस नवीकरणसँगै साना उद्योगको नवीकरण मा पनि समय सापेक्षिक परिमार्जन गरेको उनको भनाइ छ।

सानो उद्योगको एनएस नवीकरणमा शुल्क २ सय प्रतिशत वृद्धि गरी १५ हजार रुपैयाँ पुर्‍याएको उनले जानकारी दिए। यसैगरी विभागले  मझौला उद्योगको पनि २ सय प्रतिशत नै वृद्धि गरी ४५ हजार रुपैयाँ पुर्‍याएको छ।

यस अघिसम्म साना उद्योगको ५ हजार, मझौला र ठूला उद्योगको १५/१५ हजार रुपैयाँ नवीकरण शुल्क लाग्दै आएको थियो।

‘विभागले  अध्ययन/अनुसन्धानपछि नेपाल गुणस्तर परिषदको १००औं बैठकले शुल्क बढाउने निर्णय गरको हो,' उनले भने, अर्थमन्त्रालयको सहमतिमा नमुना परीक्षण शुल्क, एनएस नवीकरण शुल्क र एनएस लिनका लागि आवेदन शुल्क परिमार्जन गरिएको हो।’

योसँगै एनएस लिने आवेदन दिन पहिले शूल्क नलाग्ने भएपनि अब भने २ हजार रुपैयाँ लाग्ने छ।