काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारहरुले कल्याणकारी कोषमा रकम जम्मा गर्नका लागि ७ वटा बैंक मात्रै रहँदै आएकोमा अब सरकारले बैंकिङ प्रणालीलाई विस्तार गरी 'क' वर्गका वाणिज्य बैंक पनि थप गर्ने भएको छ।
वैदेशिक रोजगारसँग सम्बन्धित बैंकिङ सेवाको पहुँच विस्तारका लागि सरकारले नयाँ बैंक थप्ने योजना अघि सारेको हो।
वैदेशिक रोजगारीमा जाने कामदारलाई सबै स्थानीय तहका बैंक शाखाहरुबाटै बैंकिङ सेवा उपलब्ध गराउनका यस्तो योजना ल्याइएको वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए। उनले भने, ‘अब कुनै बैंकमा गएर घन्टौंसम्म लाइन बस्नुपर्ने समस्याको समेत अन्त्य हुन्छ र वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सहज हुन्छ।’
क वर्गका वाणिज्य बैंकमार्फत सेवाप्रवाहका लागि खुल्ला गर्ने गरी कल्याणकारी व्यवस्थापन समितिको गत २३ गते बसेको बैठकले निर्णय गरेको थियो।
सोही निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त सबै राष्ट्रिय वाणिज्य बैंकमा आवेदनका लागि वैदेशिक रोजगार बोर्डले जेठ २८ गते सूचना प्रकाशित गरेको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा निवेदन पेस गर्न सम्बन्धित बैंकहरुलाई अनुरोधसमेत गरिएको छ।
यससम्बन्धी विस्तृत जानकारी www.fepb.gov.np मा समेत राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।