रोपाइँको मुखमा मल अभाव हुँदा किसान चिन्तित, भन्छन्- कृषिप्रधान देशको सरकार किसानउन्मुख भएन

'ग्लोबल टेण्डरको व्यवस्था नहुदाँ मल खरिदमा समस्या'
दीपक घिमिरे | २०७६ जेठ ३० बिहीबार | Thursday, June 13, 2019 ०६:४३:०० मा प्रकाशित

भैरहवा- वर्षायाम सुरु हुँदैछ। धान खेतीका लागि किसानहरु तयारीमा जुटेका छन्। मानो छरेर मुरी उब्जाउनका लागि किसानहरु यतिबेला अधिकांश समय खेतबारीमा भेटिन्छन्।

तर, यहि समय प्रचण्ड गर्मी छ। उल्लेख्य वर्षा भएको छैन। नदीनालाहरुमा पानीको बहाव बढेको छैन। धानको बिउ छरिएको खेत चिराचिरा परेको छ। कतिपय किसानहरु ट्यांकरमा पानी ल्याएर पनि धानको बिउ राखिरहका छन्।

अर्कातर्फ यही समयमा मलको चरम अभाव छ। कृषिप्रधान देश भनेर चिनिने नेपालमा सरकार किसानउन्मुख भएन भन्ने गुनासो किसानको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-६, नरयानापुरका कृषक धर्मदेव धवलले गुनासो पोखे, 'किसानको पीडा बुझ्ने देशमा कोही भएन।' धानको रोपाइँ गर्नुपर्ने बेलामा जिल्लाभर डिएपी मलको चरम अभाव छ।

'धान रोपाइँको बेला आयो, यतिबेला हामीलाई डिएपी मलको निकै आवश्यकता छ,' धवलले भने, 'तर न त हामीजस्ता किसानले आवश्यक मल पाएका छन्, न त बिउविजन र सिँचाइको प्रबन्ध नै।'

ट्यांकरको पानी प्रयोग गरी धान बीउ छर्ने ब्याड तयार गरिँदै।

उनले आवश्यक समयमा मलको अभावका कारण धानको उत्पादनमा गिरावट आउनसक्ने भन्दै चिन्ता व्यक्त गरे। 'समयमा मल उपलब्ध नभएको अवस्थामा राम्रोसँग उब्जनि हुँदैन। जसकारण यसले मुलुककै अर्थतन्त्रमा समेत असर पार्नसक्छ,' उनले भने।

रुपन्देही जिल्लाको लागि वार्षिक ३० हजार मेट्रिकटन डिएसपी मल आवश्यक पर्छ। हालसम्म आवश्यक मलको ६० प्रतिशत मात्रै वितरण गरिएको सरकारी निकायको दाबी छ। तर, मलको अभावमा किसानहरु चिन्तित छन्। कहींकतै केही बोरा मल बाँडिए पनि एक बोराका लागि हारालुछ हुन्छ।

सरकारले किसानका लागि सहुलियत र अनुदानका कुरा गरेपनि वास्तविक किसानले भने सहुलियत र अनुदान नपाएको ओमसतिया गाउँपालिका-६ का भुरहु वरुणले गुनासो पोखे। 'देशको मेरुदण्ड कृषि भए पनि सरकारले कृषि क्षेत्र र वास्तविक किसानहरुका लागि खासै केही गरेको छैन,' उनले भने, 'अहिले मल आवश्यकता परेको बेला मलको अभाव भएको छ, रोपाइँको मुखमा मल पाइँदैन कि भन्ने चिन्ताले सताएको छ।'

कृषक सेवा समिति रुपन्देहीका अध्यक्ष देव धवलले समयमा मल नपाउँदा किसानहरु निकै समस्या परेको गुनासो गरे। सरकारले मलको अनुदान बढाए पनि वास्तविक किसानले मल पाए/नपाएको विषयमा अनुगमन गर्नुपर्नेमा उनले जोड दिए। भने, 'यहाँ मलको अभाव हुँदा किसानहरु चोरजस्तै लुकिछिपी सीमापारीबाट मल ल्याउन बाध्य छन्।'

सिँचाइको अभावमा चिरा परेको धनको बिउ राखिएको ब्याड।

कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाको गोदाममा युरिया मल प्रशस्त भए पनि डिएपी मल एक बोरा पनि छैन। जबकी अहिलेको आवश्यकता भनेकै डिएपी मलको हो। कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाका क्षेत्रिय प्रबन्धक राजेन्द्रबहादुर कार्कीले हाल जिल्लामा डिएपी मलको अभाव रहेको स्वीकारे।

'केही दिनअघिसम्म डिएपी मल वितरण गरिएको थियो,' कृषि सामाग्री कम्पनीका क्षेत्रीय प्रबन्धक कार्कीले भने, 'तर, पछिल्लो समय डिएपी मल नआएकोले अभाव भएको हो।' उनका अनुसार कम्पनीको गोदाममा रहेको युरीया मल भने वितरण भइरहेको छ।

'डिएपी मलको अभाव छ। जिटुजीमार्फत खरिद गर्नुबाहेक अन्य उपाय छैन,' उनले भने, 'ग्लोबल टेण्डरको व्यवस्था नहुदाँ समस्या परेको हो।'

सिँचाइको अभावमा चिरा परेको धनको बिउ राखिएको ब्याड।