फाइल तस्बिर।
भरतपुर- देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो।
केन्द्रका प्रमुख डा विजय श्रेष्ठका अनुसार विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २ सय ५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ। जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दूध प्रयोग गर्नुपर्छ। श्रेष्ठले भने, 'जिल्लामा ६ लाख २५ हजार जनसङ्ख्या छन्, जसलाई दैनिक एक लाख ५६ हजार लिटर दूध आवश्यक पर्दछ।' उनको भनाइमा जिल्लामा दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ।
जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्ला जाने गरेको छ। श्रेष्ठले धेरै दूध काठमाडौँ जाने जानकारी दिँदै बाँकी कास्की र छिमेकी जिल्लामा जाने गरेको बताए। केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा दूध दिने गाई ४९ हजारको संख्यामा छन्। जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजारको संख्यामा छन्। यसैगरी १० हजार स्थानीय र ९ हजार उन्नत जातका भैँसी छन्।
यो त्यांक स्थानीय तहको पशु सेवा शाखामार्फत लिइएको हो। चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार जिल्लामा १ सय ३८ दुग्ध उत्पादक सहकारीमध्ये १ सय ४ क्रियाशील छन्। उनले सरकारले सहयोग गरेमा ५ वर्षभित्रमा हालको उत्पादनको ५० प्रतिशत दूध बढाउन सक्ने जानकारी दिए। गाई, बाच्छी प्रजनन केन्द्रको विकास गर्न सहयोग पाएमा दूध र गाईसमेत बाहिरबाट नेपालमा ल्याउन नपर्ने गरी यही उत्पादन गर्न सकिने न्यौपानेको भनाइ छ।
यसैगरी किसानलाई दिइने सहुलियत ऋण लिन कठिन हुने, नेपाल सरकारको अनुदान पर्याप्त नभएको, संस्था दर्ता गरेर पहुँचको भरमा अनुदान दिइने, भ्याक्सिन समयमा नपाउनेजस्ता समस्या भएको न्यौपानेले जानकारी दिए।
यस जिल्लालाई आज दूधमा आत्मनिर्भर जिल्लाको रुपमा घोषणा गरिँदैछ। यसअघि काभ्रे जिल्ला आत्मनिर्भर जिल्लाको रूपमा घोषित भएको थियो। पशुसेवा विज्ञ केन्द्रका अनुसार चितवनलाई दोस्रो जिल्लाको रूपमा घोषणा गरिँदैछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।