एजेन्सी– सन् २०१४ यता गाजा क्षेत्रमा भएको हमलामा २१ सय प्यालेस्टाइनीले ज्यान गुमाए। युद्धपछि गाजा क्षेत्रमा सिर्जना भएको अभावका कारण अहिले पनि ज्यान त्याग्नेहरु बढिरहेका छन्। गाजामा रहेका युवा भन्छन्, ‘अभावमा बाच्नुभन्दा आत्महत्या हाम्रो लागि सहज छ।’ गाजा क्षेत्रमा आत्महत्या गर्ने युवाको संख्या बर्सेनि ४२ प्रतिशतले बढिरहेको छ।
३९ वर्षीय रेजअबु सेता ६८ मिटर अग्लो उचाइको टावरमा चढ्छन्। उनलाई विश्वास थियो टावरबाट हाम फालेर ज्यान त्यागु नै उनको समस्याको समाधान हो। टावरको टुप्पोमा पुगेपछि उनी सोचमग्न हुन्छन्, ७ घन्टासम्म टावरमा बसेर परिवारको विजोगको कल्पना गर्छन्। यतिबेलासम्म उनी दोधारमा छन्, हाम फालेर परिवारको साथ छोड्ने वा झरेर परिवारसँगै रहने। अन्ततः उनले आत्महत्या नगर्ने निर्णय लिन्छन्।
‘निकै दबाबमा रहेको मैले दिमागी सन्तुलन गुमाएको थिएँ। हतासमा आत्महत्या गर्ने निर्णय लिँदै टावरमा चढेँ। टुप्पोमा पुगेपछि बालबच्चा सम्झिँदै फर्किएँ,’ उनले भने।
सन् २०११ मा प्यालेस्टाइन सुरक्षा गार्ड रहेका उनको तलब बिना कारण काटियो। ५ वर्षसम्म तलब प्राप्तिका लागि उनले संघर्ष गरे तर रित्तो हात फर्किए। जिन्दगीमा धेरैथोक गुमाएका उनी आफ्नो श्रमको मूल्य गुमाउन चाहाँदैनन्। उनले के–के गुमाएनन्, इजरायलले गाजामा आक्रमण गर्दा दुईपटक घर गुमाए, बुवा–आमा गुमाए। ‘उनीहरुले बढो अमानवीय व्यवहार देखाए, मेरो तलब बिनाकारण रोक्का भयो। म मेरो अधिकारका लागि लड्दैछु,’ उनले भने।
मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका अक्रम नफीका अनुसार आत्महत्या गर्ने तरिकामा पनि परिवर्तन आएको छ। ‘सामान्यतया आत्महत्या गर्ने मानिस गोप्य तरिकाले योजना बुन्छन् र प्राण त्याग्छन्। तर यहाँ शैली फरक छ, उनीहरु हुल जम्मा भएको सार्वजनिक स्थानमा पीडादायी ढंगले आत्महत्या गर्छन्,’ नफी भन्छन्।
उनीहरुलाई बढ्दै गएको बेरोजगारी र नाकाबन्दीले सिर्जना गरेको अप्ठ्यारो परिस्थति समाना गर्नुभन्दा आत्महत्या सहज भएको नफी सुनाउँछन्। ‘हामी आफ्नो भूमीमा बसेर कष्टकर जीवन जिउन बाध्य छौँ। हाम्रा न्यूनतम आवश्यकता पनि कटौती भएका छन्। यो पीडा सम्झिँदा हामीलाई मृत्यु सहज हुन्छ,’ एक युवक भन्छन्।
गाजामा बर्सेनि बेरोजगारी वृद्धिदर ४२ प्रतिशत छ, जुन विश्वकै सबैभन्दा ठूलो बेरोजगारी प्रतिशत हो। इजिप्ट र इजरायलको नाकाबन्दी र सैन्य हमलाका कारण गाजाका युवा चरम निरासामा छन्।
अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार प्यालेस्टाइनीहरुको स्वास्थ्य उपचार गर्ने जिम्मेवारी इजरायलको हो। प्यालेस्टाइनीका लागि उपचार सेवा उपलब्ध गराउँदै आएको बेलायती संस्थाका अनुसार प्यालेस्टाइनीको स्वास्थ्य अवस्था नाजुक हुँदै गए पनि इजरायलले केही गरेको छैन। ‘गाजामा प्यालेस्टाइनी शरणार्थीमा बढ्दो वितृष्णाले आत्महत्या पनि बढिरहेको छ। यसले प्यास्टाइनहरुको धैर्र्यताको शक्ति गुमेको प्रस्ट छ,’ संयुक्त राष्ट्रसंघका प्रतिनिधि बोह्याक भन्छन्।
विगत ५ वर्ष यता बर्सेनि गाजामा रहेका प्यालेस्टाइनीहरुमा १८ प्रतिशतले मानसिक तनावबाट शिकार हुनेको संख्या बढिरहेको गाजा कम्युनिटी मेन्टल हेल्थको तथ्यांक छ।
बालबालिकाको समेत कहालीलाग्दो अवस्था छ। ‘यो अवस्थामा बालबालिकालाई सुरक्षित स्थानमा लानु उपयुक्त विकल्प हो। तर, सुरक्षित स्थान पाइरहेका छैनौँ,’ नफी भन्छन्।
जेरुसेलम आफ्नो पक्षमा पार्न लडिरहेका प्यालेस्टाइनीलाई अब जेरुसेलमको मोह छैन। उखरमाउलो गर्मीमा ८ घन्टा बिजुली जान्छ, त्यसमा कसरी ज्यान जोगाउने चिन्ता छ उनीहरुलाई। यो अवस्थामा प्यालेस्टाइन र इजरायलीबीच घृणाको युद्ध छ। नफी भन्छन्, ‘हतियार उठाएर प्यालेस्टाइनीले दिमागसँग युद्ध गरिरहेका छन्।’
गाजामा युद्धको निशाना यत्रतत्र छ। आकाशमा उडिरहेको इजरायली ड्रोनको पट्यार लाग्दो आवाज प्यालेस्टाइनीको कानमा प्रायः सधैँ गुञ्जिन्छ। युवाहरुमाझ फेरि भयानक स्थिति आउने हो कि भन्ने त्रास उत्तिकै छ।
सन् २०१४ को युद्धमा घाइते भएका ५३ वर्षीय नोमन जिबरेल सामान्य पटका पट्किँदा समेत बेहोस हुन्छन्। आकाशमा ड्रोनको आवाज सुन्ने बित्तिकै उनको सात्तो उड्छ। ‘जब ड्रोनको आवाज सुन्छु, मेरो दिमागमा अनेक कुरा खेल्छन्। म सोचमग्न हुन्छु। फेरि आक्रमण भए ज्यान कसरी बचाउने भन्ने कहालीलाग्दो अवस्था नआओस,’ नोमन भन्छन्।
२०१४ मा आक्रमण हुँदा उनी मार्टमा काम गरिरहेका थिए। छिमेकीको घर रकेटले उडाइदियो। जब उनी स्थिति बुझ्न दुई पाइला चाल्दै थिए, अर्को रकेटले उनको घर क्षतविक्षत बनाइदियो। उनीसमेत अपाङ्ग हुन पुगे। उनले आफ्ना हात–खुट्टा गुमाए र भयानक आवाजले उनको श्रवणशक्ति समेत गुम्यो।
गाजाको अस्पतालमा डाक्टरले उनको अर्को हात फाल्न लागेका थिए, छोराले दिएनन्। इजिप्टमा गएर उपचार गर्दा उनको हात जोगियो। उनी हलचल गर्न सक्छन् तर रकेटले घर उडाउँदा लागेको छर्रा उनको टाउकोमा गडेको छ, त्यो निकाल्दा उनको शरीर नचल्ने स्थिति आउँछ।
८ घन्टा विजुली जाँदा उनको विद्युतीय ह्विलचियर चार्ज हुन पाउँदैन। त्यसैले उनी घरमै बस्छन्। शारीरिक रुपमा अशक्त जिबरेलमा रतिभर वितृष्णा छैन। ‘अल्लाह महान् छन्, उनी मेरो धैर्यताको परीक्षा लिँदैछन्,’ जिबरेल भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।