काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एसियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरेका छन्।
अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पारे।
पुँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एसियामा सबैभन्दा राम्रो रहेको उनको भनाइ छ। अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना बढेर गएको समेत बताए।
मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्यास गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए।
त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्ब पुर्याउने घोषणा पनि गरे। सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ।
कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको ९ महिनामा २ अर्ब मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए। उनले सबै प्रदेशको कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि बताए।
कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ। यस भवनको निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३ सय ९६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।