नेपाल उडान गर्न फिन एयरको चासो, हवाई सम्झौताका लागि फिनल्यान्डको प्रस्ताव

उत्तम काप्री | २०७६ जेठ २८ मंगलबार | Tuesday, June 11, 2019 १८:०६:०० मा प्रकाशित

तस्बिर ः जुस्ट एलेक्जेन्डर


काठमाडौं- फिनल्यान्डको राष्ट्रिय ध्वजाबाहक ‘फिन एयर’ले नेपालसँग हवाई सम्पर्क स्थापना गर्न चासो देखाएको छ।

फिन एयरले नेपालसँग हवाई सम्पर्क जोड्ने इच्छा प्रकट गरेसँगै फिनल्यान्डले नेपालसँग हवाई सम्झौताका लागि प्रस्तावसमेत पेस गरेको छ।

फिनल्यान्डले परराष्ट्र मन्त्रालयमार्फत् हवाई सम्झौताका लागि प्रस्ताव पठाइसकेको छ। परराष्ट्र मन्त्रालयले सो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइसकेको छ। फिनन्यान्डसँग हवाई सम्झौताको आवश्यक तयारी गर्न मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई जिम्मेवारी दिएको छ।

फिन एयरले नेपालमा उडान गर्न चासो देखाएसँगै हवाई सम्झौताको प्रस्ताव पर्यटन मन्त्रालयमा आइपुगेको मन्त्रालयका सह-सचिव सुरेश आर्चायले बताए। तर, हवाई सम्झौताको समय र फ्रिक्वेन्सीको विषयमा भने टुंगो लागि नसकेको उनको भनाइ छ।

‘नेपाल र फिनल्यान्डबीच यसअघि हवाई उडानका लागि कुनै सम्झौता भएको छैन,' उपसचिव नेपालले भने, ‘दुईपक्षीय सहमति भएको अवस्थामा फिनल्यान्डसँग हुने हवाई सम्झौता युरोपेली युनियनका सदस्य राष्ट्रसँगको पहिलो हवाइ सम्झौता हुनेछ।’

फिनल्यान्डले अहिले नेपालको छिमेकी राष्ट्र भारतमा भने उडान गर्दै आएको छ। नेपाल र फिनल्यान्डबीच हवाई सम्झौता भए युरोपेली युनियनसँगका सदस्य राष्ट्रसँगसमेत हवाई सम्पर्क थप बलियो बन्नेछ। 

‘अहिले नेपालले युरोपसँगको हवाई उडानमा जोड्ने बिन्दु टर्कीलाई लिँदै आएको छ,’ नेपालले भने, ‘फिनल्यान्डसँग हवाई सम्झौता भएको अवस्थामा युरोपसँग जोडिने हवाई सम्पर्क थप मजबुत हुन्छ।’

फिन एयरका सिनियर मार्केटिङ निर्देशक र कपोरेट निर्देशकसहित फिनल्यान्डका राजदूतसमेत ३ महिनाअघि नेपालमा उडान र हवाई सम्झौताका विषयमा चासो राख्दै मन्त्रालयमै आएको आचार्य बताउँछन्। फिनल्यान्डले हवाई सम्झौताका लागि लिखित रुपमै प्रस्ताव पठाएको उनको भनाइ छ।

अहिले पनि नेपाली विद्यार्थीहरू पनि फिनन्यान्ड जाँदा दिल्ली हुँदै जाने गरेका छन्।

नेपालबाट फिनल्यान्ड जान झन्डै १० घन्टासम्म समय लाग्छ।

नेपालले खरिद गरेको नयाँ वाइडबडी पनि फिनल्यान्ड जान सक्ने संभावना हुन्छ। सम्झौता भए लगत्तै घाटा/नाफा जे भएपनि उडान गर्नु नेपालको लागि फाइदा हुने मन्त्रालयको भनाइ छ।

फिन एयरले पनि पछिल्लो सयम नर्मल रुटमा भन्दा वैकल्पिक रूटमा बढी जोड दिँदै आएको छ।

‘नेपाल र युरोपमा कुनै पनि एयरलाइन्सको अहिले सक्पर्क छैन। पहिलो एयरलाइन्स हुनु नै उसका लागि फाइदा छ। तर, फिन एयर नेपाल आउन तयारी हो। कसरी आउँछ भन्ने विषय ठुलो हैन। भारत हुँदै नेपाल आउन पनि सक्छ, सिधै नेपाल आउन पनि सक्छ। यो पछिको विषय हो,' उपसचिव नेपालले भने।

तर, हवाई सम्झौताका लागि भने केही समय लाग्ने उनको भनाइ छ।

अहिले वार्षिक रुपमा करिब ३ लाख युरोपेली नागरिक नेपाल भ्रमणमा आउने गरेका छन्। नेपाल घुम्न चाहने पर्यटकका लागि पनि यो फाइदाको विषय हो।