काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मैदा, आटा लगायतका खाद्य वस्तुमा पनि मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेपछि नेपाल मैदा उद्योग संघले त्यसको विरोध जनाएको छ। भारतबाट सस्तो मूल्यमा आयात हुने आटा तथा मैदामा नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको अहिलेको अवस्थामा सरकारले त्यसमागि करको भार थपिदिएको भन्दै व्यवसायीहरुले त्यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको हो।
खाद्य वस्तु गहुँको पिठो (आटा) मा आगामी आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर लगाएकाले अर्बौंको लगानी रहेका तीन दर्जनभन्दा बढी स्वदेशी मैदा उद्योगहरु जोखिममा परेको भन्दै संघले त्यस्तो व्यवस्था लागू नगर्न सरकारसँग आग्रह गरेको छ।
अहिले भारतबाट वैध वा अवैध रुपमा नेपाल आउने आउने मैदा/आटासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएको भन्दै संघले त्यसमाथि करको भार थपिँदा आयातले प्रोत्साहन पाउने जनाएको छ।
सरकारी नीतिका कारण अबका केही वर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको विकल्प नभएको संघको ठम्याइ छ।
आटामा लागेको मूल्य अभिवृद्धि करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने देखिन्छ। मूल्य अभिवृद्धि करकै कारण अब आटाको मूल्य प्रतिकिलो ५ देखि ६ रुपैयाँ बढ्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।