प्रतीकात्मक तस्बिर
काठमाडौं- नेपाल र भारतबीच नेपाली रेल कोलकत्ता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म सञ्चालन गर्ने सहमति भएको छ।
जुन ६ र ७ मा भारतको नयाँ दिल्लीमा सम्पन्न भएको नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेश्रो विस्तृत पुनरावलोकन बैठकले उक्त सहमति गरेको हो।
कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति जनाएको हो।
त्यसैगरी, नेपाल र भारतबीचको पारवहन सन्धिअनुसार विराटनगर र भैरहवा नाकाबाटसमेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउनेगरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति भएको छ।
विराटनगर-जोगबनी, सुनौली-नौतनवा र कुर्था-इनरुवा-जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि उक्त रुटहरु कार्गो ढुवानी गर्न पाउने गरी नेपाल-भारत रेल सेवा सम्झौता थप गर्ने पनि सहमति भएको छ।
नेपालले भारतसँग कार्गो रेल सञ्चालनका लागि अनुमति पाएसँगै भारतीय रेल नेपालमा सञ्चालनका लागि पनि बाटो खुलेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईका अनुसार नेपालले भारतीय रेलबाट लाईसेन्सप्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन प्रस्ताव गरेको छ।
भारतीय कार्गोहरु नेपाल सञ्चालन गर्ने तथा ढुवानी गर्न दिने विषयमा नेपालले गरेको प्रस्तावलाई भारतले अनुमति दिने वा नदिने भनेर सरोकारवाला पक्षहरुसँग छलफल गर्न भारतले सहमति जनाएको छ।
नेपाल र भारतबीच भएको पारबहन सम्झौताअनुसार तेश्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतका धाम्रा र मुन्द्रा पोर्ट नेपाल-भारत रेलसेवामा थप गर्ने पनि सहमति भएको छ।
नेपालले विरगंज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल्वे लाईन विस्तार गर्न पनि भारतिय पक्ष सहमत भएको छ।
दुई देशबीच भएको अर्को महत्वपूर्ण सम्झौतामा तेश्रो मुलुक आयात निर्यातका लागि नेपाल र भारतका सुख्खा बन्गरगाहबीच रेलमार्फत ढुवानी गर्न नेपाली पक्षले गरेको प्रस्तावमा नेपाल भारत पारबहन सन्धीमा आवस्यक संशोधन भएमा रेल सेवा सम्झौतामा यस्तो प्रावधान राख्ने सहमति भएको छ।
त्यसैगरी, रेल सेवा सम्झौताको चौथो बैठक ६ महिनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुई पक्षको अनुकुलतामा कुटनीतिक माध्यामबाट तय गरिने पनि सहमति भएको छ।
दुई देशबीच भएका सम्झौतामा वार्ता टोलीको नेतृत्व नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतका तर्फबाट भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोज कुमार श्रीवास्तवले गरेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।