लक्सर (इजिप्ट)- इजिप्टको दक्षिणी भूभाग लक्सरमा ममी सहितका प्राचीन चिहान फेला परेका छन्।
इजिप्टेली अधिकारीहरूले शनिबार लक्सरमा एक जना सुनार र उसकी पत्नीको ममी सहितका चिहान शनिबार फेला पारेका हुन्।
लक्सरको द्रा अबुल नगा कब्रिस्तानमा फेला परेका चिहानमा शव बाकस, ममी, मूर्तिहरु, भाँडाकुँडा लगायत विभिन्न सामान फेला परेको इजिप्टको पुरातत्व मन्त्रालयले जनाएको छ।
फेला परेका ममी र चिहान आमेनएहमट र उनकी पत्नी आमेनहोटेपसँग सम्बन्धित भएको पुरातत्वविद् टोलीका प्रमुख मोस्तफा अल–वजिरीले बताए। उनले नै ३ हजार ५ सय वर्ष पुरानो चिहान र ममी फेला पार्ने इजिप्टेली पुरातत्वविद् टोलीको नेतृत्व गरेका थिए।
पुरातत्वविद् टोलीले ममी, शव बाकस र अन्त्येष्टिमा लगाउने काठका मुखुन्डा र विभिन्न मूर्तिहरू फेला परेको बतायो। उनीहरूले कब्रिस्तान परिसरमा नै अर्की एक महिला र उनका दुई वयस्क सन्तानको चिहान पनि फेला पारेका छन्।
वजिरीले भने, ‘हामीले अझै धेरै ममी फेला पार्नेछौं। यसले भविष्यमा अझ धेरै चिहान र ममी फेला पार्न बाँकी छ।’
शनिबार भेटिएको चिहान र ममी पनि गत अप्रिलमा त्यही कब्रिस्तानमा फेला परेको ३५ सय वर्ष पुरानो चिहानबाट पाएको संकेतका आधारमा खोजिएको वजिरीले बताए। त्यसबेला चिहान र ममीसँगै १० वटा रंगीन शव बाकस र धेरै ममी फेला परेको पुरातत्वविद्हरूले बताएका थिए।
मन्त्रालयले अप्रिलमा भेटिएको टी आकारको मुख्य चिहान उजरात नामका न्यायाधीशको भएको बताएको थियो।
यस वर्ष इजिप्टेली पुरातत्वविद्हरूले देशका विभिन्न ठाउँमा दर्जनौं चिहान र मूर्तिहरू फेला पारेका छन्।
गत मार्चमा राजधानी कायरोमा नै एउटा ३ हजार वर्ष पुरानो विशाल मूर्ति भेटिएको थियो। करिब ३० फिट अग्लो मूर्ति कायरोको विपन्न बस्तीको ढलमा भेटिएको थियो। पित्तलको मूर्ति रामासेस दोस्रोको भएको अनुमान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।