काठमाडौं- भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न नहुने भएको छ। विमानस्थलको ३ हजार मिटरको रनवे निर्माण सम्पन्न भइसकेको छ।
रनवे निर्माणको काम सकिए पनि अन्य काम बाँकी रहेको भन्दै सरकारले ६ महिना सम थप्ने तयारी गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले विमानस्थल निर्माणको समय ६ महिना थप्ने तयारीमा छ।
चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ले विमानस्थलको निर्माण गरिरहेको छ। निर्माण कम्पनीसँग सरकारले २०१४ नोभेम्बरमा सन् २०१७ डिसेम्मबरसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि सरकारले विमानस्थल निर्माणको समय थप गर्दै २०१९ को जुन २८ सम्म थप गरेको थियो। फेरि तेस्रोपटक सन् २०१९ को डिसेम्बरभित्र निर्माण सम्पन्न गर्नेगरी समय थप गर्ने तयारी भएको प्राधिकरणका निमित्त महानिर्देशक राजन पाेखरेलले जानकारी दिए।
यसअघि सरकारले यसै आर्थिक वर्षदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको थियो। अगस्टभित्रै अन्तर्राष्ट्रिय उडानको परीक्षण उडान गर्ने तयारीसमेत थियो।
यस्तै, यसै आर्थिक वर्षमा विमानस्थल सञ्चालन हुने अवस्था नआएपछि सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।
विमानस्थल निर्माणमा भन्दा जग्गामा बढी रकम खर्च भएको छ। जग्गा मुआब्जामा मात्रै २३ अर्ब खर्च भएको छ। दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना अन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१ का लगि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।
यसैगरी, आइसिबी–२ अन्तर्गतको काममा लागि मार्च ७ मा सम्झौता भएको थियो। प्राधिकरणले ४.८ मिलियनमा सम्झौता गरे पनि यस कामको लागि प्राधिकरणले ७.२५७ मिलियन रकम छुट्याएको थियो। यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ। यसैगरी ओएफआइडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।