



सिओल– उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको साता दिन नबित्दै अर्को परमाणु परीक्षण गर्न लागेको समाचारपछि दक्षिण कोरिया थप सशंकित बनेको छ। उत्तरले आफ्नो स्थापनाको ६९ औं वर्षगांठको अवसरमा थप परमाणु परीक्षणलाई निरन्तरता दिने सम्भावनाका बीच दक्षिण सशंकित बनेको हो।
दक्षिण कोरियाका युनिफिकेशन मन्त्री चो म्योङ ग्योनले उत्तर कोरियाको परमाणु मोहलाई निरुत्साही पार्न विकल्पको खोजीमा रहेको जनाएका छन्। उनले भने, ‘दक्षिण कोरिया चाहन्छ कि उत्तर कोरिया शान्तिपूर्ण तरीकाले परमाणु निरस्त्रीकरणको लक्ष्यतर्फ उन्मुख होस।’
पछिल्लो वर्ष उत्तर कोरियाले आफ्नो स्थापना दिवसको ६८ औं वर्षगांठ मनाउने क्रममा पाँचवटा परमाणु परीक्षण गरेको थियो। दक्षिण कोरियाको जासुसी संस्थाले सप्ताहको सुरुवातमा किम जोङ उनको निर्देशनमा १० अक्टुबरमा उत्तरले थप एक परमाणु परीक्षण गर्न सक्ने आशंका गरेको छ। यतिबेला उत्तर कोरिया वर्कर्स पार्टीको ७२ औं स्थापना दिवस मनाइरहेको छ। उत्तरले केही महिना यता हतियार विकाश कार्यक्रममा वृद्धि ल्याएको छ। यसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन्।
उत्तरले भने बढ्दो अन्र्ताष्ट्रिय प्रतिबन्धलाई वेवास्ता गर्दै स्थापना दिवसको अवसरमा परमाणु हतियार निमार्णको अपील गरेको छ। दक्षिण कोरियाली सेनाले उत्तरको गतिविधिलाई नजिकबाट नियालिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।