एजेन्सी- मेक्सिकोमा बिहीबार रातिको ८.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ।
भूकम्पले १२ वटा राज्यका झन्डै ५ करोड जनता प्रभावित भएका छन् । मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले टेलिभिजन सम्बोधनका क्रममा भूकम्पमा ६१ जनाको मृत्यु भएको बताएका हुन् । कैयौं मानिस भत्किएका भग्नावशेषमुनि च्यापिएको हुन सक्ने आशंका गरिएको छ । कम्तीमा २ सय जना घाइते भएको जनाइएको छ।
मृत्यु भएका मध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र चार जना ताबास्को राज्यका रहेका जनाइएको छ।
दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको र भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन्।
बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरहरुबाट बाहिर भागेर खुल्ला सडकमा पुग्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।